दुई कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार खुल्दै

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार दुई कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सहित ४ करोड ९६ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

स्टकका अनुसार आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयर आज नेप्सेमा सूचीकृत भएको हो । आइएमई लाइफको कुल ४ करोड कित्ता र नेपाल रिपब्लिक मिडियाको कुल ९६ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा अनुसार आइएमई लाइफले सर्वसाधारणलाई जारी गरेको १ करोड २० लाख कित्ता र संस्थापकहरुले लगानी गरेको २ करोड ७० लाख कित्ता सहित कुल ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

यस्तै यस्तै नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणमा बिक्री गरेको ४३ लाख ५३ हजार कित्ता आईपीओ र संस्थापकहरुले लगानी गरेको ५३ लाख २२ हजार कित्ता गरी कुल ९६ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

दुबै कम्पनीले सर्वसाधारमा जारी गरेको कित्ता आईपीओ सहित चुक्ता पुँजी बराबरको धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा सूचीकरण गरेको हो । बिहीबार नेप्सेमा सूचीकरण भएसँगै आइतबारदेखि दुबै कम्पनीको धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ । नेप्से र सम्बन्धीत कम्पनीबीच सूचीकरण सम्झौता भएको दोस्रो कारोबार दिनदेखि स्टक एक्सचेञ्जमा कारोबार खुल्ने व्यवस्था रहेको छ ।

नेप्सेले आइएमई लाइफ इन्स्योरेन्सको सेयर कारोबारका लागि स्टक सिम्बोल ‘आइएलआई’ (ILI) र नेपाल रिपब्लिक मिडिया लिमिटेडको सेयर कारोबारका लागि स्टक सिम्बोल ‘एनआरएम’ (NRM) दिएको छ । यहि कारोबार संकेतमा दुबै कम्पनीको कारोबार हुनेछ ।

कतिमा खुल्छ पहिलो कारोबार ?

बिहीबार नेप्सेमा सेयर सूचीकृत भएसँगै लगानीकर्ताहरुलाई दुबै कम्पनीको सेयर कारोबार कतिमा खुल्छ भन्ने चासो छ ।

सर्वसाधारणको लागि सेयर निष्काशन गरेको कम्पनीको लेखापरीक्षण भएको परिष्कृत वित्तीय विवरणमा कायम भएको बास्तविक प्रतिसेयर नेटवर्थका आधारमा नेप्सेले त्यस्ता कम्पनीको ओपनिङ्ग रेञ्ज तोक्ने गरेको छ ।

पहिलो पटक दोस्रो बजारमा सेयर कारोबार खुला हुने कम्पनीलाई नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थलाई न्यूनतम काराबार रेञ्ज मानेर त्यसको तीन गुणासम्मको कारोबार रेञ्ज तोक्ने गरेको छ ।

उल्लेखित व्यवस्था अनुसार आइएमई लाइफ इन्स्योरेन्सको सेयर न्यूनतम १७६ रुपैयाँ ५३ पैसादेखि अधितकम ५२९ रुपैयाँ ५९ पैसासम्मको रेञ्जभित्र रहेर कारोबार खुला हुनेछ । ओपनिङ्ग मूल्यबाट नियमित समयमा एक दिनमा ओपनिङ्ग मूल्यबाट अधिकतम १० प्रतिशतसम्म थपघट हुन सक्नेछ ।

यस्तै नेपाल रिपब्लिक मिडिया लिमिटेडको सेयर न्युनतम ८४ रुपैयाँ ४७ पैसादेखि अधिकतम २५३ रुपैयाँ ४१ पैसासम्मको रेञ्जभित्र रहेर पहिलो कारोबार खुला हुनेछ । ओपनिङ्ग मूल्यबाट नियमित समयमा एक दिनमा ओपनिङ्ग मूल्यबाट अधिकतम १० प्रतिशतसम्म थपघट हुन सक्नेछ ।

सार्वजनिक निष्कासनका लागि प्रकाशित विवरणपत्र अनुसार आइएमई लाइफ इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ १७६ रुपैयाँ ५३ पैसा र नेपाल रिपब्लिक मिडियाको प्रति सेयर नेटवर्थ ८४ रुपैयाँ ४७ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।