चितवनमा ४० हजार चालक कारबाहीमा


गत आर्थिक वर्ष २०७९\८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।
चालकलाई कारबाही गर्नेक्रममा तीन करोड ४५ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्रगतिमा सवारी चलाउनेलगायत ट्राफिक नियम उल्लङघन गर्ने चालकलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा ट्रक तथा टिपरका चालक सात हजार ७५, बस तथा माइक्रोबसका चालक चार हजार एक सय ९४, जीप तथा कारका चालक सात हजार सात सय १२, ट्र्याक्टर चालक एक हजार छ सय नौ, मोटरसाइकल तथा स्कुटर चालक १३ हजार एक सय सात र टेम्पो तथा अटोरिक्सालगायत सवारीसाधनका चालक छ हजार नौ सय ६७ रहेका जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए ।

गत आवमा तीन सय तीन सवारीसाधन दुर्घटनामा परेका थिए । सो क्रममा ७८ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा एक सय ७० जना गम्भीर र चार सय ११ जना सामान्य घाइते भएको उनले बताए । सबैभन्दा बढी जिल्लाका भित्री सडकमा एक सय ४१, पूर्व–पश्चिम राजमार्गमा ६४, नारायणगढ–मुग्लिन सडकखण्डमा ५७, पृथ्वी राजमार्गमा २३ र जिल्लाका सहरी सडकखण्डमा १८ सवारीसाधन दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ साउन २०८०, शुक्रबार  ०८ : ३५ बजे