विशिष्टीकृत लगानी कोष सञ्चालन गर्न ६ कम्पनी इच्छुक, बोर्डमा पुग्यो आवेदन

0
Shares

नेपाल धितोपत्र बोर्डले कानुनी व्यवस्था गरेपछि भेञ्चर क्यापीटल, प्राइभेट इक्यूटी तथा हेज फण्ड सञ्चालन गर्नका लागि ६ कम्पनी इच्छुक देखिएका छन् । इच्छुक कम्पनीले कोष व्यवस्थापकको अनुमती माग्दै बोर्डमा निवेदन पनि दिइसकेका छन।

बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली २०७५ लागू गरेपछि भेञ्चर क्यापीटल, प्राइभेट इक्यूटी तथा हेज फण्ड सञ्चालन गर्न कोष व्यवस्थापकको अनुमती माग्दै सिविआइएल क्यापीटल, एनएमबी क्यापीटल, नबिल इन्भेष्टमेन्ट, कृति क्यापिटल, लक्ष्मी क्यापिटल र ग्लोबल इक्यूटी फण्डले निवेदन दिएका हुन।

आवेदन दिएका कम्पनी मध्ये ग्लोबल इक्यूटी फण्ड बाहेक अन्य ५ कम्पनी धितोपत्र बजारमा काम गरीरहेका कम्पनी हुन् । सिविआइएल क्यापीटल, एनएमबी क्यापीटल, नबिल इन्भेष्टमेन्ट र लक्ष्मी क्यापिटलले सामु्हिक लगानी कोषको समेत व्यवस्थापनको काम गरिरहेका छन । यी कम्पनीहरुले भेन्चर क्यापिटल, प्राइभेट इक्यूटी र होज फण्ड सञ्चालनका लागि कोष व्यवस्थापकको अनुमती माग्दै आवेदन दिएका हुन।

तर, हाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षको पद रिक्त भएको हुनाले नयाँ अध्यक्ष नआउदासम्म आवेदकले अनुमती पाउदैनन् । बोर्डको अध्यक्ष नभएको हुनाले काम रोकिएको बोर्डका एक अधिकारीले बताए।

यसरी विशिष्टीकृत लगानी कोषले सिमित संस्था तथा व्यक्ति मार्फत पूँजी संलकन गर्ने भएकाले धितोपत्रको दोस्रो बजारमा भने सूचिकृत हुदैन । त्यसैगरी कोषहरुले योजना सञ्चालन अनुमती पाएको ३ महिना भित्र निष्कासन सुरु गरी २ वर्ष सम्ममा बन्द गरीसकेको हुनु पर्छ।

तर, धितोपत्र बोर्डमा विशिष्टीकृत लगानी कोष सञ्चालन गर्ने भनेर कोष व्यवस्थापकको अनुमती माग्दै निवेदन दिएको एक आवेदक कम्पनीका सञ्चालकले बताए । धितोपत्र बोर्डले आवेदन अध्ययन गरीरहेको जानकारी दिने गरेको गुनासो समेत ती सञ्चालकको रहेको छ।

प्राइभेट इक्यूटी तथा भेञ्चर क्यापिटलको काम

प्राइभेट इक्यूटी तथा भेञ्चर क्यापिटलले शेयर बजारमा सूचिकृत नभएका सार्वजनीक तथा निजी कम्पनीलाइ पनि सर्पोट गर्ने काम गर्छ । प्राइभेट इक्यूटी भन्दा पनि भेञ्चर क्यापीटलले लगानीकर्ताको दृष्टिकोणवाट केहि जोखिम युक्त हुन्छ ।

प्राइभेट इक्यूटीले परिपक्क हुने कम्पनीलाइ सपोर्ट गरेर स्थापना गर्न वित्तीय सहयोग गर्छ । भेञ्चर क्यापीटलमा आइडीया, कन्सेप्ट र प्रविधिलाइ सपोर्ट गरेर कुनै पनि कम्पनीलाई वित्तीय सहयोग गर्न सक्छ । तर, यी दुबै लगानी योजनामा कुनै पनि कम्पनीको गुडविल, प्रडक्ट र सेवा मध्ये कुनै एक वा सबैलाइ आवश्यक वित्तीय सहयोग गरीन्छ ।

तर, हेज फण्डले उच्च जोखिम रहेका जुन सुकै क्षेत्रमा पनि लगानी गर्न सक्ने गरी सिमित व्यक्ति तथा समुहको पूँजीलाई परिचालन गर्ने गरी स्थापना भएको योजना हो । कोषहरुले ५ वर्ष देखि १५ वर्ष सम्मका योजनाहरु ल्याउन सक्छन ।

विशिष्टीकृत लगानी कोष संचालनका लागि गरिएका व्यवस्था

विशिष्टीकृत लगानी कोष नियमावली अनुसार व्यवस्थापकका लागि २ करोड चुक्ता पुँजी भएको कम्पनी हुनु पर्ने व्यवस्था छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कोष व्यवस्थापकको कार्य गर्ने उद्देश्य रहेको हुनुपर्छ । कोष व्यवस्थापक तथा सोका सञ्चालक वा कार्यकारी प्रमूखले कुनै प्रकारको ठगी जा जालसाजी अपराधमा सजाय नपाएको हुनु पर्छ । त्यसका साथै कोष व्यवस्थापकका सञ्चालक वा कार्यकारी प्रमूखले नैतिक पतन देखिने फैजदारी कसूरमा सजाय नपाएको हुनु पर्छ ।

कोषहरुले योजनाको सार्वजनिक निकाष्शन गरी सर्वसाधारणवाट पूँजी आह्वान गरी पूँजी संकलन गरेका कोष व्यवस्थापकहरु मध्ये धितोपत्रको कारोबारका लागि आवश्यक व्यवस्था नगरेका, बोर्डको सम्पर्कान नआएका कोष व्यवस्थापक, सुचीकरण खारेजीको कारबाहीमा परेका वा बोर्डलाइ कोष व्यवस्थापकको सञ्चालन सम्बन्धमा प्रचलित कानुन बमोजिम दिनु पर्ने सूचना जानकारी वा विवरण नदिई बसेका भनी बोर्डको अभिलेखमा रहेका कोष व्यवस्थापक वा त्यस्तो कोष व्यवस्थापकको कार्यकारी प्रमुख वा सञ्चालक संलग्न नरहेको हुनु पर्ने व्यवस्था छ । यी मापदण्ड पुरा गरी बोर्डको अनुमती पाएको कोष व्यवस्थापकको सञ्चालक समितिमा ५ देखि ७ जनासम्म सञ्चालक रहन सक्छन ।

बोर्डमा दर्ता हुनुपर्ने

विशिष्टीकृत लगानी कोष सञ्चालनका लागि व्यवस्थापकको अनुमती पाएपछि कम्पनीहरुले कोष पनि बोर्डमा दर्ता गर्नु पर्ने हुन्छ।

नियमावली अनुसार कोषको रकम कम्तीमा १५ करोड रुपैयाँ हनुपर्ने, कोष व्यवस्थापकले कोषमा न्यूनतम दुइ प्रतिशत हिस्सा लिएको र सो न्यूनतम हिस्सा कायम राख्ने व्यवस्था भएको, कोषका इकाइधनीको संख्या २ सय भन्दा धेरै हुन नहुने तथा कोष बन्दमूखी प्रकृतिको हुने व्यवस्था छ ।

साथै यस्ता कोषमा लगानी गर्ने इकाइधनीले नगद लाभांसको रुपमा मात्र प्रतिफल लिन सक्छन । त्यसका साथै इकाइधनीले कम्तीमा ५० लाख रुपैयाँको इकाइ खरिद गर्नु पर्ने व्यवस्था रहको छ । यसरी इकाइधनीवाट संकलन भएको पुँजी विभिन्न संस्था तथा क्षेत्रहरुमा लगानी गर्न सकिनेछ ।