सोनापुर मिनरल्सले प्रिमियममा आईपीओ जारी गर्ने, कस्तो छ कम्पनी ?


सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले साउन २९ गतेदेखि प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारीका रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले स्थानीयको सेयर अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम बापत १२५ रुपैयाँ थप गरी प्रति कित्ता २२५ रुपैयाँ तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि प्रति कित्ता २३७.५८ रुपैयाँका दरले सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजीको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँको १ करोड २३ लाख २ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये १५ लाख ३७ हजार ५२५ कित्ता उद्योग प्रभावित क्षेत्र र १० लाख ७६ हजार २६८ कित्ता वैदेशिक रोजगारीमा रहेकाको लागि निष्काशन गर्न लागेको छ । उद्योग प्रभावित क्षेत्रको आइपीओमा दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन पाउने छन् ।

कम्पनीको आइपीओमा आयोजना प्रभावित स्थानिय वासिन्दाले आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वेदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ७६ हजार २६८ कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

वैदेशिक रोजगारीका रहेका नेपालीले आइपीओमा साउन २९ गतेदेखि भदौ ११ गतेसम्म आवेदन दिन पाइउनेछन् । स्थानिय बासिन्दाको हकमा भने निष्काशन अवधि ढिलोमा भदौ २६ गते सकिने छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइन्स इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ।

स्थानिय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्ने छन् । कम्पनीले सार्वजनिक सेयर निष्काशनको लागि एनआईबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

कम्पनीको बारेमा

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पश्चिम नेपालमा सबैभन्दा धेरै सिमेन्ट उत्पादन गर्ने कम्पनी हो । दाङमा उद्योग रहेको कम्पनीले आधा दर्जन ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । कम्पनीले सोना सिमेन्ट, सोना टेक सिमेन्ट, सोनाली सिमेन्ट, सोना चाँदी सिमेन्ट, सोनापुर सिमेन्ट र सोनाश्री सिमेन्ट लगायत ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ ।

उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक १२५० टन रहेको छ । क्लिंककर उत्पादन क्षमता २३०० टन रहेको छ । कम्पनीसँग हाल एउटै स्थानमा रहेका दुईवटा चुनढुङ्गा खानी उत्खनन अनुमतिपत्र छ । सोनापुर मिनरल्स सन् २००८ मा स्थापना भएको हो । उद्योग तयाल परिवारले स्थापना गरेको हो । उद्योगको अध्यक्षमा रतनलाल तयाल रहेका छन भने प्रबन्ध सञ्चालकमा निपेश तयाल रहेका छन् ।

सोनापुर मिनिरल्सले सन २०२२ मा २ अर्ब ३७ करोड ५० लाख बराबरको आम्दानी गरेको छ । सन् २०२१ मा कम्पनीले २ अर्ब ९२ करोड २० लाख आम्दानी गरेको थियो । हाल नेपालमा ६० वटा सिमेन्ट उद्योग र २० वटा क्लिंकर उद्योग रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।