सागर डिष्टिलरीले साढे ७ करोडको आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

0
Shares

सागर डिष्टिलरीले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा सागर डिष्टिलरीका तर्फबाट अध्यक्ष संदिप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सागर डिष्टिलरी लिमिटेडले कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुने ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । सर्वसाधारण जनताको सहभागिता बढाउनको लागि १५ प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष जलानले जानकारी दिए । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले आईपीओ निकाल्नेछ ।

नेपालमा गुणस्तरीय मदिरा उत्पादन र विक्री वितरण गर्न वि.सं. २०६९ सालमा सागर डिष्टिलरी लिमिटेडको संस्थापना भएको हो । यस कम्पनीको फ्याक्ट्री देवचुली, नवलपुरमा रहेको छ । खासगरी सागर डिष्टिलरीद्वारा उत्पादित ब्राण्डहरु रोयल ब्लु, ग्रे उल्फ, बेरिज् एण्ड ब्लु ब्राण्ड रहेका छन ।

प्रतिष्ठित व्यक्तिहरुको मागलाई मध्यनजर गर्दै सागर डिष्टिलरीले प्रिमियम ह्वीस्की बजारमा ल्याउने तयारी गरिरहेको छ । यसका साथसाथै सागर डिष्टिलरीले दीर्घकालीन रुपमा मौलिक परम्परामा आधारित नेपाली मदिराको निर्यात गर्ने लक्ष्यका साथ व्यवसायीक उत्पादन कार्यलाई अघि बढाइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।