साढे २० अर्ब लागतमा बनेको नागढुङ्गा सुरुङको ‘ब्रेक थ्रु’


नागढुङ्गा सुरुङ निर्माण आयोजनाअन्तर्गत आपत्कालीन उद्धार सुरुङ (रेस्क्यु टनेल)को सोमबार ‘ब्रेक थ्रु’ भएको छ । उक्त सुरुङमार्ग वारपार छिचोलिएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ युगको सुरुआत भएको बताइएको छ ।

नेपालको यातायात क्षेत्रको पहिलो आधुनिक सुरुङमार्ग निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको हो । नागढुङ्गा सिस्नेखोला सुरुङमार्गअन्तर्गत उक्त सुरुङको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकाले दुवै देशको संस्कृतिअनुसार पूजा गरेर ‘ब्रेक थ्रु’ गरेका हुन् ।

सो अवसरमा भौतिक राज्यमन्त्री नन्दा चपाई, सडक विभागका महानिर्देशक सुशीलकुमार ढकाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सञ्चारकर्मी, सो क्षेत्रका स्थानीय तहका प्रमुखलगायत सुरुङभित्रै सहभागी थिए ।

मुख्य सुरुङ छिचोल्न बाँकी नै भए पनि आपत्कालीन सुरुङ भने छिचोलिएको हो । आपत्कालीन उद्धार सुरुङको सफल ‘ब्रेक थ्रु’ उत्सवका अवसरमा मन्त्री ज्वालाले यो शुभारम्भ ऐतिहासिक र गौरवपूर्ण दिन भएको बताए । उनले केही समयपछि मुख्य सुरुङको पनि ‘ब्रेक थ्रु’ हुने र एक वर्षमा सुरुङमार्गमा यातायातका साधन सुचारु हुने विश्वास दिलाए ।

यो आयोजनाको सुरुआत धादिङको धुनीवेशी नगरपालिकाबाट भई काठमाण्डौंको चन्द्रागिरि नगरपालिकामा अन्त्य हुनेछ । आयोजनाको दोस्रो पटक म्याद थपपश्चात अप्रिल २०२४ मा सम्पन्न गर्ने समयावधि रहेको छ । आयोजनाको कुल लागत २० अर्ब ६० करोड रुपैयाँ मध्ये जाइकाले १५ अर्ब ८० करोड रुपैयाँ सहुलियत ऋणमार्फत उपलब्ध गराउने छ भने बाँकी चार अर्ब ८० करोड रुपैयाँ नेपाल सरकारले व्यहोर्ने प्रावधान रहेको छ ।

साढे दुई किलोमिटर लम्बाइ र साढे चार मिटर चौडाइको आपत्कालीन सुरुङमा सातवटा क्रस प्यासेज राखिएको छ । सुरुङभित्र कुनै दुर्घटना हुँदा वा अन्य कारणले मुख्य सुरुङ अवरुद्ध हुँदा प्रयोगमा ल्याउन मुख्य सुरुङसँगै निर्माण गरिएको आकस्मिक सुरुङ छिर्न मुख्य सुरुङमा सातवटा गेट राखिएको छ ।

आयोजनाको मुख्य सुरुङको लम्बाइ भने दुई हजार छ सय ८८ मिटर छ । त्यसमध्ये सोमबारसम्म दुई हजार एक सय ८६ मिटर सुरुङ खन्ने काम सकिएको आयोजनाले जनाएको छ । मुख्य सुरुङ खन्न अब पाँच सय दुई मिटर मात्र बाँकी छ । आगामी मङ्सिरसम्ममा मुख्य सुरुङ पनि वारपार छिचोल्ने गरी काम भइरहेको छ ।

विसं २०७६ कात्तिक ६ गते सुरुङमार्गको औपचारिक शिलान्यास भए पनि सुरुङ खन्ने काम भने झन्डै १४ महिनापछि २०७७ पुस ८ गतेदेखि मात्रै सुरु भएको हो । काठमाण्डौं उपत्यकाको मुख्य प्रवेश विन्दु मानिने नागढुङ्गा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न, इन्धनको बचत गर्न तथा सहज यात्राका साथै वायुप्रदूषण कम गर्नका लागि सुरुङमार्ग उपयोगी हुनेछ ।

मुलुकका प्रमुख सहरसँग सम्पर्क गर्दै काठमाण्डौं उपत्यका प्रवेश गर्ने प्रमुख सडक नारायणगढ–मुग्लिन–नौबिसे–काठमाडौँ खण्डमा पर्ने नागढुङ्गा भञ्ज्याङमा सुरुङमार्ग निर्माण गरिएको हो । जापानी कम्पनी हाजमा एन्डो करर्पोरेसनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको छ । आयोजनाअन्तर्गत हाल बलम्बुमा ‘फ्लाईओभर’ निर्माण कार्यसमेत भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार  ०६ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।