नेपाल उद्योग परिसंघ र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले उर्जा क्षेत्रको विकास एवं समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरेका छन् ।
मंगलबार परिसंघको कार्यालयमा परिसंघले इप्पानको नयाँ कार्यसमितिलाई बधाई दिँदै यस्तो ऐक्यबद्धता जनाएको हो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उर्जा क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने दीगो माध्यम रहेको भन्दै इप्पानसँग ऐक्यबता गरेर अघि बढ्ने बताएका हुन् ।
उर्जा क्षेत्रको समग्र विकास, नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यक्त देखिएको बताएका अग्रवालले परिसंघले उर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै परिसंघमा उर्जा परिषद् गठन गरी यस क्षेत्रमा कार्य गर्दै आएको बताएका थिए । पीपीए खुला गरिनुपर्ने, नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गरिनुपर्नेमा पनि अग्रवालले जोड दिएका थिए ।
इप्पानका अध्यक्ष गणेश कार्कीले उर्जा क्षेत्रको विकासका लागि उर्जा संकटकाल घोषणा गर्न सरकारलाई सुझाव दिएको बताउँदै उर्जा क्षेत्रको सन्दर्भमा निजी क्षेत्रको सुझावमा एकरुपता हुनुपर्ने बताएका थिए ।
निजी क्षेत्रलाई आन्तरिक एवं बाह्य क्षेत्रमा विद्युत व्यापार गर्न दिनुपर्ने, विद्युत निर्यातका लागि सीमा क्षेत्रसम्म प्रसारणलाइन निर्माण हुनुपर्ने, उद्योगीहरुले आवश्यक विजुली पाउनुपर्ने लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको कार्कीको भनाई थियो ।







