मूल्य वृद्धि घट्यो, तलब र ज्याला भने वढ्यो

0
Shares

चालु आर्थिक वर्षको चार महिनामा उपभोक्ता मूल्य वृद्धि घटेको छ । चालु आर्थिक वर्षको असोज महिनामा ६.२१ प्रतिशत रहेको उपभोक्ता मूल्य वृद्धि कार्तिक महिनामा घटेर ५.७६ प्रतिशतमा झरेको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनाको औसत मुद्रास्फीति ६.२७ प्रतिशत छ । चालु अवाको असोजसम्ममा औसत मुद्रास्फीति ६.४४ प्रतिशत रहेको थियो ।

२०७६ कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको कात्तिकको तुलनामा मुल्यवृद्धि वढेको हो । गत आवको कात्तिकमा मुद्रास्फीति ४.१५ प्रतिशत रहेको थियो ।

चालु आवको कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.९६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.०७ प्रतिशत रहेको नेपाल राष्ट बैंकले जनाएको छ । 

चालु आवमा कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूहतर्फ घरायसी उपयोगिताका वस्तु एवम् सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि केही बढी रहेको केन्द्रीय बैंकले जनाएको छ ।

कात्तिक महिनामा काठमाडौं उपत्यकामा ६.५० प्रतिशत, तराईमा ६.०४ प्रतिशत, पहाडमा ४.५६ प्रतिशत र हिमालमा ४.०१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ कात्तिकमा यी क्षेत्रहरुमा क्रमशः ४.५० प्रतिशत, ३.७९ प्रतिशत, ४.३१ प्रतिशत र ४.६२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

चालु आवको पहिलो चार महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत रहेकोमा भारतमा यस्तो (नोभेम्बर महिनाको) मुद्रास्फीति ५.५४ प्रतिशत रहेको छ । गत आवको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.१५ प्रतिशत र २.३३ प्रतिशत रहेको थियो ।

२०७६ कात्तिकमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.९४ प्रतिशत रहेको छ । गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति ६.९३ प्रतिशत रहेको थियो । चालु आवको कात्तिममा प्राथमिक वस्तु समूह अन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूह अन्तर्गत खाद्य, पेय तथा सूर्तीजन्य पदार्थको थोक मूल्य वृद्धि उच्च रहेको छ ।

वृहत आर्थिक वर्गीकरणको आधारमा हेर्दा, चालु आवको कात्तिकमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २५.२० प्रतिशत, १.२१ प्रतिशत र २.२१ प्रतिशत रहेको छ । चालु आवको चार महिनामा निर्माण सामग्रीको थोक मूल्य ३.१९ प्रतिशतले घटेको छ ।

२०७६ कात्तिकमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १०.४५ प्रतिशतले बढेको छ । गत अवको सोही महिनामा उक्त सूचकाङ्क ८.९० प्रतिशतले बढेको थियो । चालु आवको कात्तिकमा तलब सूचकाङ्क १३.५६ प्रतिशत र ज्यालादर सूचकाङ्क ९.६१ प्रतिशतले बढेको छ ।