शोधनान्तर स्थिति २७ अर्ब २९ करोड रुपैयाँले बचतमा

0
Shares

चालु आर्थिक वर्षको पहिलो चौमासमा शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको कात्तिकमा शोधनान्तर स्थिती ५७ अर्ब ३३ करोड रुपैयाँले घाटामा थियो ।

चालु खाता घाटा घट्दै गएपछि शोधनान्तर बचत बढ्दै गएको हो । चालु आवको कात्तिक सम्ममा चालु खाता घाटा ३७ अर्ब ३० करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ८८ अर्ब ४३ करोड रहेको थियो । अमेरिकी डलरमा गत आवको चार महिनासम्ममा ७७ करोड २१ लाख रहेको चालु खाता घाटा चालु आवको कात्तिकमा ३२ करोड ८८ लाख रहेको छ ।

चालु आर्थिक वर्षको चार महिनामा पूँजीगत ट्रान्सफर ४ अर्ब ५७ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ४ अर्ब २२ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति गत आवको चार महिनासम्ममा ५० करोड ३६ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा २४ करोड ८ लाखले बचतमा रहेको छ।

निर्यात २३.९ प्रतिशतले वृद्धि, आयात ६.९ प्रतिशतले घट्यो

आर्थिक वर्ष २०७६÷७७ को चार महिनामा कुल वस्तु निर्यात २३.९ प्रतिशतले वृद्धि भई ३६ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो ।

यस अवधिमा भारततर्फ ४५.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६ प्रतिशत र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७६/७७ को चार महिनामा कुल वस्तु आयात ६.९ प्रतिशतले घटेर ४५० अर्ब ३० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३५.८ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १०.९ प्रतिशत र ८.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२.८ प्रतिशतले बढेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय र कन्चनपुर भन्सार कार्यालय बाहेकका भन्सार नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको राष्ट्र बैंकले जनाएको छ ।

आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय बाहेकका भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७६/७७ को चार महिनासम्ममा कुल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले संकुचन भई ४१४ अर्ब २ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.१ प्रतिशत रहेको थियो ।

ब्याजदरमा समान्य सुधार

२०७५ कात्तिकमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर २.२० प्रतिशत रहेकोमा २०७६ कात्तिकमा ३.८३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ को १.६८ प्रतिशतको तुलनामा २०७६ कात्तिकमा २.५९ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ कात्तिकको १०.२१ प्रतिशतको तुलनामा २०७६ कात्तिकमा ९.५० प्रतिशत कायम भएको छ । २०७६ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.०७ प्रतिशत रहेको छ । गत आवको कात्तिकमा यी दरहरु क्रमशः ६.६१ प्रतिशत र १२.२६ प्रतिशत रहेका थिए ।