राठी र गोयल ग्रुपको लगानी रहेको मारुती सिमेन्टसको आम्दानीमा गिरावट

0
Shares

व्यापारिक घराना राठी ग्रुप र गोयल ग्रुप अफ कम्पनीजको लगानी रहेको मारुती सिमेन्टको सञ्चालन आम्दानीमा गिरावट आएको छ । सन् २०२२ मा कम्पनीको आम्दानी २७.९१ प्रतिशतले खस्किएको हो ।

केयर रेटिङका अनुसार कम्पनीले सन् २०२२ मा ४ अर्ब ९४ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा ६ अर्ब ८६ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा २७.७१ प्रतिशतले घटेको हो ।

कम्पनीको आम्दानीमा आएको गिरावटसँगै कम्पनीको ह्रासकट्टी, परिसोधन, ब्याज, भाडा र कर सहितको कम्पनीको नाफामा समेत गिरावट आएको छ । सन् २०२१ मा कुल सञ्चालन आम्दानीको २२.३० प्रतिशत रहेको सो नाफा सन् २०२२ मा १०.५५ प्रतिशत विन्दुले घटेर ११.७५ प्रतिशत पुगेको हो । यस्तै कम्पनीको कर पछिको नाफा (प्याट)मा समेत गिरावट आएको छ । सन् २०२२ मा प्याट कुल सञ्चालन आम्दानीको ६.१२ प्रतिशत रहेको छ । जुन सन् २०२१ मा कुल सञ्चालन आम्दानीको १४.२४ प्रतिशत थियो ।

सन् १९९४ मा स्थापना भएको मारुती सिमेन्ट्स लिमिटेड सन् २००५ मा राठी ग्रुप र गोयल ग्रुप अफ कम्पनीजले अधिग्रहण गरेको थियो । हाल कम्पनीले क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको क्लिंकर उत्पादन क्षमता प्रति दिन १ हजार ५०० मेट्रिक टन रहेको छ । यस्तै सिमेन्ट उत्पादन गर्ने क्षमता प्रति दिन २ हजार मेट्रिक टन रहेको छ ।

कम्पनीले ५ अर्ब ५५ करोड ६५ लाख बराबरको कर्जाका लागि रेटिङ एजेन्सी केयर रेटिङ नेपालबाट रेटिङ गराएको थियो । तर कर्जा रेटिङको समयवधि समाप्त भएपछि रेटिङ पुनःपुष्टि गर्ने समयमा कम्पनी सम्पर्कविहीन भएको केयर रेटिङले जनाएको छ। कर्जा रेटिङ सम्बन्धी थप जानकारीका लागि सम्पर्क गर्दा कम्पनीले प्रतिक्रिया नदिएपछि एजेन्सीले कर्जा रेटिङ घटाएको छ ।

यस अघि ४ अर्ब ४८ करोड ६० लाख बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी रेटिङ गरेको केयरनेपालले रेटिङ समीक्षा गरी यस पटक ए माइन्समा रेटिङ घटाएको छ । यस्तै १ अर्ब ७ करोड ४ लाख बराबरको अल्पकालीन कर्जाको रेटिङ ए३ बाट ए२ प्लसमा घटाएको छ । रेटिङमा गिरावट आउनुका साथै कम्पनीलाई एजेन्सीले इस्सुअर नट कोअपरेटिङको सूचीमा राख्दै रेटिङ वीथड्रल गर्ने सूचना दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।