पर्यटकीय गतिविधि बढेपछि सोल्टीले कमायो साढे ५४ करोड खुद नाफा

0
Shares

सोल्टी होटलले गत आर्थिक वर्ष २०७९/८० मा ५४ करोड ५१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा होटल २९ करोड ७२ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा होटलको नाफा ८३.४० प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७९८० को चौथो त्रैमासिकको समीक्षा अवधि २०८० वैशाख, जेष्ठ तथा आषाढ तीन महिनाको अवधिमा नेपालको अन्तर्राष्ट्रिय पर्यटक आगमनमा महत्वपूर्ण सुधार भई पर्यटकीय गतिबिधिमा अभिवृद्धि भएकोले होटेलको व्यावसायिक गतिविधि तथा क्रियाकलापहरुमा उल्लेख्य वृद्धि कारण रहेको होटलले औंल्याएको छ ।

नेपाल भ्रमणमा आउने भारतीय तथा चिनियाँ पर्यटकहरुको संख्यामा महत्वपूर्ण अभिवृद्धि भएको तथ्याङ्क छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार जनवरी २०२३ देखि जुलाई २०२३ सम्म हवाईमार्गबाट मात्रै ५ लाख ३४ हजार २०७ जना पर्यटक नेपाल भित्रिएका थिए ।

कम्पनीको स्वामित्वमा सञ्चालित नेपालको ख्याती प्राप्त, अन्तर्राष्ट्रिय स्तरको एयरलाइन्सहरुका उडानहरुमा इन्फ्लाईट क्याटरिङ सेवा प्रदायक महाशाखा दी सॉल्टी गेट गुरमेट डिभिजनका व्यावसासयीक गतिबिधिहरुमा समेत उल्लेख्य कार्यसम्पादन प्रगति भएको छ । कम्पनीको इन्फ्लाइट क्याटरिङ सेवा विस्तार गर्ने क्रम समेत जारी रहेको कम्पनीले जनाएको छ । यसले कम्पनीको खुद नाफामा आकर्षक बढोत्तरी भएको हो ।
खुद नाफा बढेसँगै समीक्षा अवधिमा सोल्टी होटलको प्रति सेयर आम्दानी वार्षिक ६ रुपैयाँ १६ पैसा र प्रति सेयर नेटवर्थ २३ रुपैयाँ ६८ पैसा पुगेको छ । अघिल्लो आवमा होटल प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५३ पैसा थियो भने प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ५२ पैसा थियो । कम्पनीको मूल्य आम्दानी अनुपात ७८.७१ गुणा छ ।

संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको नवीनतम प्रतिवेदन विश्व पर्यटन ब्यारोमिटरले अन्तर्राष्ट्रिय पर्यटन आगमनको सन् सम्बत २०२३ को हाल सम्मको अभिवृद्धिको प्रवृतिलाई विश्लेषण गर्दा विश्वको अन्तर्राष्ट्रिय पर्यटक आगमन उल्लेख्य सुधार भई कोभिड़ महामारी वर्ष २०१९ को दाँजोमा लगभग ८० प्रतिशतले वृद्धि भएको छ भने गत वर्ष २०२२ को तुलनामा लगभग ८६ प्रतिशतले वृद्धि भएको छ । वर्ष २०२३ मा पनि पर्यटन खर्चमा बलियो रिबाउन्डको प्रवृति कायमै रहेको छ । परिणाम स्वरुप धेरै पर्यटक गन्तव्य देशहरुको पर्यटन गतिविधिहरुबाट हुने आयमा उल्लेख्य वृद्धि भएको छ । पर्यटकहरुमा पनि यात्रामा सुविधापूर्ण बसाईको लागि भुक्तानी गरिने मूल्यको समुचित उपयोग गर्ने प्रवृत्ति बढ्दो छ । चुनौतीपूर्ण अर्थव्यवस्था तथा न्यून आर्थिकोपार्जनका कारण पर्यटकहरुले कम खर्चिला तथा निकटतम पर्यटन गन्तव्यहरु प्राथमिकतामा राख्ने गरेका छन् ।

यसले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणका नतिजा तथा कार्यसम्पादनका सूचांकहरुलाई विश्लेषण गर्दा होटेलका कार्यसम्पादनका तथ्यांकहरु अत्यन्त उत्साहजनक देखिएका छन् । चालु आर्थिक वर्ष २०७९/८० को अन्त्यमा कम्पनीको कार्यसम्पादनका नतिजाहरु उत्साहजनक रहेका छन् । देशभित्र हुने सभा, समारोह तथा गोष्ठीहरु आयोजनाको क्रम बढ्दा होटलको व्यवसायमा सकारात्मक प्रभाव देखिएको हो । यस्तै कोभिड संक्रमण कम हुँदै जान थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा पनि वृद्धि हुँदा होटलको व्यवसायिक वातावरण समेत सुदृढ हुँदै जान थालेको हो ।

 

गत आवमा सोल्टीले व्यवसायबाट कुल २ अर्ब २४ करोड ९१ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा होटलको कुल आम्दानी १ अर्ब ३६ करोड ९१ लाख २४ हजार रुपैयाँमा सीमित थियो । समीक्षा अवधिमा व्यवसायबाट हुने आय ८८ करोड ६४ हजार रुपैयाँ अर्थात ६४.२८ प्रतिशत बढेको हो । यस्तै सोल्टीले सञ्चालन नाफा गत आवमा १०४.६७ प्रतिशत बढेर ६८ करोड ४० लाख २५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवको सोही अवधिमा ३३ करोड ३७ लाख १५ हजार रुपैयाँ थियो ।

आम्दानी मात्र होइन कम्पनीको कुल खर्च पनि बढेको छ । कम्पनीको कुल खर्चमा ५१.१६ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ५६ करोड ५१ लाख ६३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन खर्च ४९ प्रतिशतले बढेर २९ करोड ३७ लाख पुग्दा खाद्यान्न तथा पेय पदार्थको लागत ४६ प्रतिशत वृद्ध भई ३८ करोड ३० हजार रुपैयाँ पुगेको छ । यस्तै कर्मचारी सुविधा ५५.८६ प्रतिशत बढेर ५० करोड ३९ लाख, ह्रासकट्टी तथा प्रशासनिक तथा अन्य खर्चका शीर्षक २२.१७ प्रतिशत बढेर १२ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

दश रुपैयाँ अंकित दरमा सेयर जारी गरेको कम्पनीको चुक्ता पुँजी ५ प्रतिशतले बढेर ८८ करोड ४७ लाख १५ हजार रुपैयाँ छ । अघिल्लो आवको नाफाबाट होटलले ५ प्रतिशत बोनस सहित कुल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । होटलको सञ्चित मुनाफा र जगेडा कोषको आकार १ अर्ब २१ करोड १ लाख ६१ हजार रुपैयाँ पुगेको छ । होटलको जगेडा कोषको आकार भने अघिल्लो आर्थिक वर्षको तुलनामा ३६.४७ प्रतिशत बढेको हो ।

होटलको कुल व्यावसायीक आम्दानीमा अघिल्लो आर्थिक वर्ष २०७८।७९ को सोही अवधिको तुलनामा अत्यन्त उत्साहजनक तथा महत्वपूर्ण अभिबृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको कुल खुद मुनाफाको तुलनामा गत आर्थिक वर्ष २०७९।८० को अन्त्यसम्ममा लेखापरिक्षण हुन बाँकी अपरिस्कृत वित्तीय विवरण अनुसार खुद मुनाफा ८३.४० प्रतिशतले बढेको हो । कुल आय आर्जनमा ६४.२८ प्रतिशत बढेको छ ।
पर्यटन सम्बन्धी विश्लेषकहरुको प्रक्षेपण तथा अवधारणा अनुसार अन्तर्राष्ट्रिय पर्यटन सन् २०२४ को अन्त्य सम्म कोभिड महामारी पूर्वावस्थामा फर्कने आंकलन गरेका छन् । नेपालको पर्यटक आगमन समीक्षा आर्थिक वर्ष २०७९।०८ को तथ्यांकलाई विश्लेषण गर्दा हवाई मार्गबाट आउने विदेशी पर्यटकहरुको उपलब्ध आगमन संख्या कुल ८ लाख ५६ हजार ३६० पुगेको छ आगामी दिनहरुमा विशेष गरी एशिया र प्रशान्त क्षेत्रका गन्तव्य र पर्यटन बजारहरुमा पर्यटकीय गतिविधिहरुको मागमा तिव्रतर अभिबृद्धि हुने समेत संकेत प्रतिबिम्बित भएका छन् ।

होटलको उच्च व्यवस्थापन, सम्पूर्ण कर्मचारीहरुको पूर्ण सहयोग, समर्थन र व्यावसायीक परिपक्वताले खर्चहरुमा पूर्णतः मितव्ययीता अपनाई अनावश्यक तथा तत्कालका लागि आवश्यक नभएका खर्चहरुमा कटौति गर्ने सशक्त बजार व्यवस्थापन, सुदृढ उच्च व्यवस्थापन तथा होटल व्यवस्थापनका सबै आयामहरुलाई चुस्त तथा दुरुस्त भएको छ । कम्पनीले होटेल व्यवस्थापनका लागि आवश्यक सबै व्यावसायीक तथा रणनीतिक कार्यहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने समेत जनाएको छ । कम्पनीको मौज्दात, कार्यशील पुँजी र तरलताको अवस्था राम्रो छ ।

विश्वका अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक एयरलाइन्सहरुका अन्तर्राष्ट्रिय व्यावसायीक उडानहरु नियमित रुपमा संचालित रहेको तथा चीनले समेत वायुसेवाका उडानहरु नियमित गर्दै गरेको परिप्रेक्ष्यमा अगामी त्रैमासमा नेपालको पर्यटनले पनि तिब्रता लिने अपेक्षा छ । आगामी त्रैमासिक अवधिमा व्यावसायिक गतिविधिहरु वृद्धि गर्न अपनाउनुपर्ने सबै व्यावसायीक रणनीतिक संयन्त्रहरुको समुचित सदुपयोग गर्ने होटलको लक्ष्य छ । होटेलको अक्यूपेन्सी बढाउने, उपलब्ध अत्याधुनिक प्रविधिका साधनहरुको प्रयोग लगायतका सबै उपायहरु अबलम्बन गरी आम्दानी अभिवृद्धि गर्ने वित्तीय विवरणमा उल्लेख छ ।

होटेल सञ्चालन लागतमा मितव्ययीता, नियन्त्रणात्मक कार्य योजना अनावश्यक खर्च कटौतिलाई जारी राख्दै विविध बजारखण्डमा सूक्ष्म प्रवेश गर्दै आफ्ना व्यावसायिक गतिविधिहरुको कुशलतापुर्वक सञ्चालन जारी राख्ने सोल्छी व्यवस्थापनले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।