तारागाउँ रिजेन्सीको खुद नाफा दोब्बर, पर्यटकीय गतिविधि बढेपछि लयमा फर्कदैँ

0
Shares

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको खुद नाफा दोब्बर भएको छ । अघिल्लो आवको तुलनामा पर्यटकीय गतिविधिहरुमा आएको सुधारले होटलको समग्र व्यवसायसँगै खुद नाफामा समेत त्यसको सकारात्मक असर परेको हो ।

तारागाउँले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३८ करोड २६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १००।८० प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षमा खुद नाफा १९ करोड ५ लाख ५७ हजार रुपैयाँ थियो ।

विवरण अनुसार कम्पनीको कम्पनीको सञ्चालन मुनाफा १ अर्ब ३८ करोड ३२ लाख १८ हजार रुपैयाँ छ । अघिल्लो आवमा ६९ करोड २६ लाख २३ रहेकोमा ९९.७१ प्रतिशत बढेको हो । यस्तै होटलको अन्य आम्दानी १९.७२ प्रतिशत बढेर १८ करोड ७० लाख ५६ हजार रुपैयाँ कायम भएको छ ।

होटलको कुल आम्दानी ८४.९८ प्रतिशत वृद्धि भई १ अर्ब ५७ करोड २ लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ८४ करोड ८८ लाख ७१ हजार रुपैयाँ थियो । शतप्रतिशत नाफा बढसँगै होटलको प्रति सेयर आम्दानी २० रुपैयाँ २८ पैसा पुगेको छ। अघिल्लो आवमा १० रुपैयाँ १० पैसा रहेकोमा १० रुपैयाँ १८ पैसा बढेको हो । असारसम्म होटलको प्रति सेयर नेटवर्थ १३४ रुपैयाँ ८६ पैसा र मूल्य आम्दानी अनुपात ३८.९७ गुणा छ ।

देशभित्र हुने सभा, समारोह तथा गोष्ठीहरु आयोजनाको क्रम बढ्दा होटलको व्यवसायमा सकारात्मक प्रभाव देखिएको हो । यस्तै कोभिड संक्रमण कम हुँदै जान थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा पनि वृद्धि हुँदा होटलको व्यवसायिक वातावरण समेत सुदृढ हुँदै जान थालेको हो ।

संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको नवीनतम प्रतिवेदन विश्व पर्यटन ब्यारोमिटरले अन्तर्राष्ट्रिय पर्यटन आगमनको सन् सम्बत २०२३ को हाल सम्मको अभिवृद्धिको प्रवृतिलाई विश्लेषण गर्दा विश्वको अन्तर्राष्ट्रिय पर्यटक आगमन उल्लेख्य सुधार भई कोभिड़ महामारी वर्ष २०१९ को दाँजोमा लगभग ८० प्रतिशतले वृद्धि भएको छ भने गत वर्ष २०२२ को तुलनामा लगभग ८६ प्रतिशतले वृद्धि भएको छ । वर्ष २०२३ मा पनि पर्यटन खर्चमा बलियो रिबाउन्डको प्रवृति कायमै रहेको छ । परिणाम स्वरुप धेरै पर्यटक गन्तव्य देशहरुको पर्यटन गतिविधिहरुबाट हुने आयमा उल्लेख्य वृद्धि भएको छ ।

पर्यटकहरुमा पनि यात्रामा सुविधापूर्ण बसाईको लागि भुक्तानी गरिने मूल्यको समुचित उपयोग गर्ने प्रवृत्ति बढ्दो छ । चुनौतीपूर्ण अर्थव्यवस्था तथा न्यून आर्थिकोपार्जनका कारण पर्यटकहरुले कम खर्चिला तथा निकटतम पर्यटन गन्तव्यहरु प्राथमिकतामा राख्ने गरेका छन् । 

चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ रहेको होटलको जगेडा कोषमा ६५ करोड ७७ लाख ३४ हजार रुपैयाँ सञ्चित छ । पुँजी स्थिर रहेको होटलको जगेडा कोष ५१.५६ प्रतिशतले वृद्धि भएको हो ।

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको २०७९ फागुन ३ गते सम्पन्न भएको २६ औं वार्षिक साधारण सभाले सभाले करसहित ८. ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले काठमाण्डौंको बौद्धमा १५० रोपनीमा ‘होटल हायात’ सञ्चालनमा रहेको छ । सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा स्थापित कम्पनीको पाँचतारे ‘होटल हायात’ काठमाडौंको बौद्धमा सञ्चालनमा गर्दै आइरहेको छ । उक्त होटलमा ३०० कोठा सञ्चालित छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।