वार्षिक १ करोडसम्मको कारोबार गर्ने करदाताले मासिक विवरण बुझाउन नपर्ने

0
Shares

आन्तरिक राजस्व विभागले वार्षिक १ करोड रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने कारोबार गर्ने करदाताहरुलाई सहुलियत प्रदान गर्दै मासिक रुपमा विवरण बुझाउन नपर्ने व्यवस्था गरेको छ।

विभागले एक सूचना प्रकाशित गरी वार्षिक १ करोड रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने कारोबार भएका करदाताहरुको कर अवधि २०८० साउनदेखि मासिकबाट चौमासिक कायम गरिएको जानकारी गराएको हो। मूल्य अभिवृद्धि करमा भएको संसोधनअनुसार आन्तरिक राजस्व विभागले चालु वर्षदेखि लागु हुने यस्तो व्यवस्थाका बारेमा जानकारी गराएको हो ।

मासिक रुपमा विवरण दाखिला गर्दै आएका करदताले अब साउनदेखि हरेक ४ महिना अर्थात साउन, भदौ, असोज र कात्तिकको विवरण मंसिर २५ गतेसम्म तथा मंसिर पुस, माघ र फागुनको विवरण चैत २५ गतेसम्म पेस गर्नुपर्नेछ। यसैगरी चैत, वैशाख, जेठ र असारको विवरण साउन २५ गतेसम्म पेस गर्ने सुविधा विभागले प्रदान गरेको छ।

वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्ने करदाताले मासिक कर विवरण दाखिला गर्न चाहेमा सम्बन्धित आन्तरिक राजस्व कार्यालय÷करदता सेवा कार्याल्यमा १५ दिनभित्रै जानकारी गराउनसमेत विभागले आग्रह गरेको छ।

ईंटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले मासिक बुझाउनु पर्ने

विभागका अनुसार ईटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले चालु वर्षको साउनदेखि नै मासिक भ्याट विवरण बुझाउनुपर्ने भएको छ। यसअघि यस्ता उद्योगले चार महिनामा विवरण बुझाउने सुविधा पाएका थिए।

मूल्य अभिवृद्धि कर नियमावली २०५३ को नियम २६ मा भएको संसोधन अनुसार यस्ता उद्योगले अबदेखि मासिक विवरण बुझाउनुपर्ने भएको छ।

संशोधित व्यवस्था अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक एक करोड रुपयाँ भन्दा बढीको कारोवार भएका ईंटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिक रुपमा मूल्य अभिवृद्धि करको विवरण दाखिला गनुपर्नेछ ।

साथै हाल द्वैमासिक अवधिमा मूल्य अभिवृद्धि कर विवरण दाखिला गर्ने सुविधा नरहेको जनाउँदै विभागले वार्षिक एक करोड रुपयाँ भन्दा बढीको कारोवार भएका करदाताले मासिक रुपमा नै विवरण दाखिला गर्नुपर्ने उल्लेख गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।