माण्डु हाइड्रोपावरको प्रिमियम मूल्यको आईपीओ भदौ १० देखि खुल्ने

0
Shares

माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि प्रिमियम मूल्यमा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा ललितपुर र मकवानपुर जिल्लाका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई  सेयर जारीपछि सर्वसाधारणमा दोस्रो चरणको सेयर बिक्री खुला भएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी भई अवितरित रहेको ७९ हजार ३० कित्ता सहित प्रति सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँ अंकित दरमा कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ । जसमध्ये ७२ हजार १३३ कित्ता सामूहिक लगानी कोष र २८ हजार ८५३ कित्ता कर्मचारीलाई छुट्याएर बाँकी १२ लाख ५ हजार ३२० कित्ता सेयर आम सर्वसाधारणमा जारी हुनेछ ।

आईपीओमा भदौ १३ गतेसम्म लगानीकर्ताले सीडीएससीको मेरो सेयर वेवसाइट तथा मोबाइल एप तथा नेपाल धितोपत्र बोर्डबाट अनुमित प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरुबाट खरिद आवेदन दिन सक्नेछन् । न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था भएपनि एक हजारको आवेदन मात्र दिनु उपयुत्त, हुन्छ । १३ लाख हाराहारीमा आवेदन पर्ने गरेकोमा १ लाख २० हजार ५३२ जना लगानीकर्ताले मात्र सेयर पाउने हुँदा धेरै आवेदन गर्न आवश्यक देखिन्न ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

माण्डु हाइड्रोपावरले जारी पूँजीको १२ प्रतिशतले हुन आउने १६ लाख ३६ हजार ३७० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये आयोजना प्रभावित बासिन्दाका लागि २ लाख ७२ हजार ७३० कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेकालाई १ लाख ३६ हजार ३६४ निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले मकवानपुर जिल्लामा निर्माण गरि २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना अहिले सञ्चालनमा रहेको छ । यस आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ । प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११.९६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.९६ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २६ वर्ष ३ महिना बाँकी रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।