ओरालो यात्राले सेयर बजारको रौनक घट्दै, दोहोरो अंकले घट्दा २ हजार बिन्दुमुनी नेप्से

0
Shares

सेयर बजारमा लाभांश सिजनमा नै उत्साह हराएको छ । निरन्तर घट्दो क्रममा देखिएको बजारमा कारोबार रकम पनि घट्दो क्रममा रहेको छ ।दुई महीनाअघि पाँच अर्बसम्म दैनिक कारोबार रकम रहेकोमा एक महीनाअघि ३ अर्ब थियो । हाल साढे १ अर्बभन्दा तल झरेकाे छ ।

पूराना लगानीकर्ताको लगानी अधिकांश घाटामा रहेको छ । बजार बढ्ने माहोल नदेखिँदा उनीहरुले बजारमा थप लगानी गर्न चाहेका छैनन् । लाभांश सिजनमा देखिएको यस किसिमको अवस्थाले बजारमा नयाँ लगानीकर्ता पनि प्रवेश गर्न चाहेका देखिँदैनन् ।

साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार सूचक दोहोरो अंकले घटेको छ । ५३ अंकको गिरावटपछि बिहीबार ८ अंकले बढेको बजार आइतबार नै २२ अंकले ओरालो लागेको थियो । आइतबारको तुलनामा केही सुधारिएपनि सोमबार पनि बजार १२.९३ बिन्दुले घटेको छ । यससँगै नेप्से १९९८ दशमलव २८ बिन्दुमा झरेको छ । यसअघि जेठ २९ गते सोमबार नेप्से दुई हजार बिन्दु तल अर्थात १९८६.४७ थियो । त्यस यता दुई हजार बिन्दुतल रहेको बजार दुई महीना अघिको अवस्थामा झरेको हो ।

सोमबार नेप्से परिसूचक १२.९३ अंक घटेर १९९८.२८ बिन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.५० अंक घटेको छ । सोमबार २७२ स्टकको ४१ लाख ६३ हजार ८७२ कित्ता सेयर ३९ हजार ४२५ पटकको कारोबारमा १ अर्ब ४० करोड ८९ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत घटेको छ। त्यस्तै, फाइनान्स, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स ८ करोड २ लाख सहित शीर्ष स्थानमा छ। त्यस्तै आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ८३ लाख, सोल्टी होटलको ५ करोड ७८ लाख, घोराही सिमेन्टसको ५ करोड ६ लाख र हिमालयन डिष्टिलरीको सेयर ४ करोड ४२ लाख रुपैयाँमा कारोबार भएको छ ।

नेप्से ओरालो लागेपनि सोमबार लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । सामलिङ्ग पावरको सेयर मूल्य ५.१८ प्रतिशत, सुपर मादी ३.८२ प्रतिशत र सयपत्री हाइड्रोपावरको २.९० प्रतिशतले बढेको छ ।

उता मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य ७.९९ प्रतिशत घटेको छ । हिमालयन पावर पार्टनरको ५.७७ प्रतिशत, कृषि विकास डिबेञ्चर २०८३ को ५.५९ प्रतिशत, भूगोल इनर्जी डेभलपमेन्टको ५.१६ र बलेफी हाइड्रोपावरको ५.०४ प्रतिशतले घटेको छ ।
सोमबारको कारोबारपछि समग्र बजार पूँजीकरण पनि ३० खर्बभन्दा तल झरेर २९ खर्ब ९० अर्ब ८५ करोड १८ लाखमा समेटिएको छ । आइतबार ३० खर्ब १० अर्ब २१ करोड थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।