सिडिएससीले डाटा सेन्टरमा उपकरण अपग्रेड गर्दै, सोमबार साँझदेखि मेरो सेयर नचल्ने


केन्द्रिय निक्षेप प्रणाली सिडिएससीले आफ्नो डाटा सेन्टरमा भएका उपकरण अपग्रेड गर्ने भएको छ । यसका लागि लाग्ने ३ घण्टा समयमा सिडिएससीको मेरो सेयरका साथै अन्य सेवाहरु अबरुद्ध हुने सिडिएससीले जनाएको छ ।

सिडिएससीका अनुसार डाटा सेन्टरमा रहेको बीजीपी राउटर प्रतिस्थापन गर्न लागिएको हो । सोमबार साँझ साढे ५ बजे उक्त राउटर प्रतिस्थापन गरिने जनाएको सिडिएससीले प्रतिष्थापन पछि कम्तीमा ३ घण्टा मेरो सेयर नचल्ने जनाएको छ । यसका अलावा सिडिएससीका अन्य सेवाहरु पनि ३ घण्टाका लागि अबरुद्ध हुने सिडिएससीले जानकारी दिएको छ ।

सन नेपाल लाइफको साधारण सेयर निष्काशन सोमबार साँझ ५ बजेसम्म निष्काशन भई निष्काशन बन्द हुनेछ । हिमालयन म्युचुअल फण्ड अन्तरगतको हिमालयन ८० २० फण्डका इकाईको निष्काशन अवधि थप भएको अवस्थामा केही समय उक्त फण्डका इकाईमा आवेदन दिन मिल्ने छैन । यसका साथै वैदेशिक रोजगारीमा गएकाहरुलाई निष्काशन भईरहेको सोनापुर मिनरल्सको साधारण सेयर र चिर्ख्वा हाइड्रोको सेयरमा पनि उक्त समयमा आवेदन दिन मिल्नेछैन ।

अपी पावर र सिनर्जी पावरको हकप्रद सेयरमा पनि उक्त समयमा आवेदन दिन सकिने छैन ।

उता दोस्रो बजारमा भएको सेयर कारोबारको इडिआईएससँग सम्बन्धित सबै काम पनि उक्त समयमा गर्न सकिने छैन । सोमबार साँझ साढे ५ बजेदेखि कम्तीमा ३ घण्टा अर्थात राती साढे ८ बजेसम्म उल्लेखित सेवाहरु सञ्चालन नहुने सिडिएससीले जनाएको छ ।

यसका अलावा ब्रोकर, सूचीकृत कम्पनीहरुसँग जोडिएका काम पनि उक्त समयमा प्रभावित हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।