सन् नेपाल लाइफको आईपीओमा पौने १६ लाखले गरे आवेदन, ८ लाखले सेयर नपाउने


सर्वसाधारणमा प्रिमियममा निष्काशन भएको सन नेपाल लाइफको प्राथमिक निष्काशनमा झण्डै १६ लाख जनाले आवेदन दिएका छन् । साउन ३२ गते बिहीबारदेखि सर्वसाधारणमा प्रतिकित्ता २३९ रुपैयाँको दरमा निष्काशन भएको सेयर सोमबार साँझ ५ बजे निष्काशन बन्द भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी ७६ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । यस आधारमा १० कित्ताका दरले ७ लाख ६० हजार आवेदकले मात्र कम्पनीको सेयर पाउने छन् । सोमबार सेयर निष्काशन बन्द भए पश्चातको तथ्यांक अनुसार १५ लाख ७७ हजार ७४४ वटा आवेदनबाट १ करोड ७८ लाख ३२ हजार ३०० कित्ता सेयर माग भएको हो ।

उल्लेखित तथ्यांकमा केही फेरबदल हुने अवस्था हुन्छ । यही तथ्यांकलाई आधारमा मान्दा कम्पनीको सेयरमा आवेदन गरेका मध्ये ५१.८२ प्रतिशत अर्थात ८ लाख १७ हजार ७४४ जनाले सेयर पाउने छैनन् ।

इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि जारी गरेको थियो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार उक्त आइपीओमा आइतबार बेलुका ७ बजेसम्म १२ लाख २१ हजार १४२ जनाले आवेदन दिएका थिए । सोमबार मात्र साढे ३ लाखभन्दा बढीले उक्त सेयरमा आवेदन दिएका हुन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

हाल इन्स्योन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणको लागि ९६ लाख कित्ता सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं नगरपालिका वडा नम्बर २९ सिम्खडा–प्लाजा पुतलीसडक काठमाण्डौमा रहेको छ । कम्पनीले हालसम्म २९ शाखा कार्यालय र १६१ उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।