नेप्से दुई दिनमा झण्डै ५० अंकले बढेपनि दैनिक कारोबार साढे एक अर्बमै सीमित

0
Shares

सेयर बजार मंगलबार र बुधबार गरी ४७ अंकले बढेपनि लगानीकर्ताको मनोबल भने अझै बढ्न नसकेको देखिएको छ । दुबै दिनमा नेप्से दोहोरो अंकले बढेपनि ओरालो यात्राले घट्दै गएको सेयर बजारको रौनक फर्कन नसकेको हो । सोही कारण कारोबार रकम नेप्सेमा आएको वृद्धि अनुसार बढ्न नसकेको हो ।

मंगलबार १७.६९ अंकले बढेको नेप्से सूचक बुधबार २९.४७ अंकले बढेको हो । यद्यपी लगानीकर्ताले यो वृद्धिलाई विश्वास नगरी अझै पर्ख र हेर को अवस्थामा रहेको बुझिन्छ । पूराना लगानीकर्ताको लगानी अधिकांश घाटामा रहेको छ । बजार बढ्ने माहोल नदेखिँदा उनीहरुले बजारमा थप लगानी गर्न चाहेका छैनन् । लाभांश सिजनमा देखिएको यस किसिमको अवस्थाले बजारमा नयाँ लगानीकर्ता पनि प्रवेश गर्न चाहेका देखिँदैनन् । सोही कारण यो वर्ष लाभांश सिजनमा नै सेयर बजारमा उत्साह छाउन सकेको छैन । मंगलबार १ अर्ब ३३ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम १८ करोड रुपैयाँले मात्र बढेको छ ।

यसदिन २७३ कम्पनीका ४२ लाख ३७ हजार ६९ कित्ता सेयर ४४ हजार ३४० वटा संख्यामा खरिद बिक्री भई कारोबार रकम १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९८४ रुपैयाँमा समेटिएको छ । बुधबार बजार १.४६ प्रतिशत अर्थात २९.४७ अंकले बढेको छ । यससँगै नेप्से २०४५ दशमलव ४५ बिन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.३० अंक बढेर ३९० दशमलव २८ बिन्दुमा छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.७४ प्रतिशत बढेको छ। त्यस्तै, जीवन बीमा इन्डेक्स २.५१ र निर्जीवन बीमा २.१६ प्रतिशतले बढेको छ । विकास बैंक, फाइनान्स, पर्यटनमुलक तथा होटल, लगानी, लघुवित्त र ब्यापार १ प्रतिशतभन्दा धेरै बढेको छ ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट्स ७ करोड ५७ लाख ६६ हजार रुपैयाँ सहित शीर्ष स्थानमा छ । त्यस्तै सोल्टी होटलको ७ करोड ६ लाख २९ हजार, आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४६ लाख ४२ हजार, एशियन लाइफको ४ करोड ३६ लाख ४ हजार र शिवम् सिमेन्टसको ४ करोड ४ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से उकालो लागेपछि बुधबार तीन कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । लगातार तेस्रो कारोबार दिन सर्किट लागेको कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशत बढेर ६३७ रुपैयाँ ४० पैसा पुगेको छ । यस्तै ग्लोबल आइएमई ब्यालेन्स्ड फन्डको ९.६४ प्रतिशत र लिवर्टी इनर्जीको ९.४५ प्रतिशतले बढेको छ । दोल्ती पावर सेयरको ८.८६ प्रतिशत, मायोखोला हाइड्रोपावरको ८.४७, समता लघुवित्त ८.२८, सूर्योदय वोमी लघुवित्त ७.८४, मेन्छियम हाइड्रोपावरको ७.८४, तेह्रथुम पावरको ७.७९, र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको ७.७० प्रतिशतले सेयरमूल्य बढेको छ ।

उता आजको बजारमा सिटिजन सुपर ३० म्युचुअल फन्डको इकाईमूल्य ७.४२ प्रतिशत घटेर ८ रुपैयाँ २३ पैसामा झरेको छ । यस्तै एनएमबि डिबेञ्चर ८.५० प्रतिशत २०८७।८८ को ४.०१ प्रतिशत, १० प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०८६ को ३.९४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३.५२ प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य २.४६ प्रतिशतले घटेको छ ।

बुधबारको कारोबारपछि समग्र बजार पूँजीकरण पनि बढेर साढे ३० खर्बभन्दा बढीपुगेको छ । यसदिन बजार पुँजीकरण ३० खर्ब ६२ अर्ब १० करोड ४० लाख ६० हजार रुपैयाँमा समेटिएको छ । मंगलबार ३० खर्ब १७ अर्ब ९८ करोड रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।