शेयर बजार घटेपनि वाणिज्य बैंकहरुको मार्जिन प्रकृतिको कर्जा भने वढ्यो

0
Shares

चालु आर्थिक वर्षको पहिलो चार महिना अर्थात कात्तिकसम्ममा बाणिज्य बैंकहरुले प्रदान गर्ने शेयर धितो कर्जा करिब १२ प्रतिशतले वढेको छ । शेयर बजार निरन्तर घट्दो क्रममा रहेपनि ऋणमा लगानी गर्ने लगानीकर्ता नघट्दा बैंकहरुको शेयरधितो कर्जा बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा २८ बाणिज्य बैंकहरुले ३५ अर्ब ६ करोड ९२ लाख रुपैयाँ शेयर धितो कर्जा प्रदान गरेका छन । यो कर्जादर गत आवको सोही अवधिको तुलनामा ११.९२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ३१ अर्ब ३३ करोड रुपैयाँ सो शिर्षकमा कर्जा लगानी गरेका थिए ।

शेयर बजार निरन्तर घटेपछि शेयर लगानीकर्ताले आन्दोलन गरेर शेयर बजार सुधारका लागि नीतिगत परिर्वतन गरेर शेयर धितोमा पाइने कर्जाको सिमा पनि खुकुलो गराउनु पर्ने माग राखेका थिए ।

सोही अनुसार शेयर धितो कर्जामा ५० प्रतिशत मात्र कर्जा दिने र कर्जाको जोखिम भार पनि १५० प्रतिशत कायम गर्नुपर्ने व्यवस्थालाइ संशोधन गरी शेयर धितो मुल्याङकनको ६५ प्रतिशत कर्जा दिने र कर्जा जोखिम भार पनि एक सय प्रतिशतमा झरेपछि बैंकहरुको शेयर धितो कर्जा वढेको छ । 

निरन्तर शेयर बजार घटेपनि लगानीकर्ताले विरोध गर्दे आएपछि अर्थमन्त्रीले मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवम् लगानीका लागि स्रोत व्यवस्थापन सम्बन्धी सुझाव समिति गठन गराएका थिए ।

सो समितिले मार्जिन कर्जा र शेयर धितोमा प्रवाह हुने कर्जालाई स्पष्ट वर्गीकरण गर्ने तथा धितोको आधारमा दिने कर्जाको अनुपात ६५ प्रतिशत कायम गर्न सरकारलाइ सुझाएका थियो । सोही सुझाव अनुसार नेपाल राष्ट्र बैंकले सुरक्षण बापत राखिने शेयरको मूल्याङ्कन गर्दा नेपाल स्टक एक्सचेन्ज(नेप्से)बाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको बढीमा ६५ प्रतिशत रकमसम्म शेयर धितो कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको थियो ।

एकपटक प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको शेयरको पुनरमूल्याङ्कन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न नपाइने समेत केन्द्रीय बैंकले व्यवस्था गरेको छ । त्यसैगरी यस्तो कर्जा बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो प्राथमिक पूँजीको वढीमा ४० प्रतिशतसम्म मात्र शेयर धितो प्रवाह गर्न सक्ने व्यवस्थाले शेयर धितो कर्जा वढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २८ बाणिज्य बैंक मध्ये स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसविआइ बैंकले शेयर धितो कर्जा प्रबाह गरेको देखिएको छैन । त्यसैगरी कृषि विकास बैंकले गत आर्थिक वर्षको पहिलो चार महिनामा प्रबाह गरेको शेयर धितोकर्जा समावेश नभएको केन्द्रीय बैंकले जनाएको छ । बाणिज्य बैंकहरुले प्रबाह गरेको शेयर धितो कर्जा १२ प्रतिशतले वढेको भएपनि समग्र बैंक वित्तीय संस्थाले प्रबाह गरेको मार्जिन प्रकृतीको कर्जा भने १.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

रकमलाई दश लाखमा देखाइएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा सबैभन्दा धेरै शेयर धितो कर्जा प्रदान गर्ने बैंकमा सरकारी लगानी रहेको नेपाल बैंक रहेको छ । बैकले सो अवधिमा ४ अर्ब ९० करोड रुपैयाँ शेयर धितो कर्जा प्रबाह गरेको छ । बैंकले गत आवको सोही अवधिमा २ अर्ब १५ करोड रुपैयाँ शेयर धितो कर्जा प्रदान गरेको थियो ।