अर्थतन्त्रको अहिलेका अवस्था सुधार गर्न निजी सार्वजानिक साझेदारी बाञ्छनीय छ: राष्ट्रपति

0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले मूल्यवृद्धि लगायत साना र मझौला उद्योगहरू समस्याग्रस्त हुँदै गएको अवस्थामा निजी सार्वजानिक साझेदारी बाञ्छनीय रहेको बताएका छन । उनले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसंगको भेटमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भएमात्र आर्थिक विकास संभव हुने बताएका हुन ।

विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनले बताए । सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र सदभावको दरिलो साझेदारी आवश्यक रहेको उनले बताए । नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उनले उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यथार्थबारे आफु अनभिज्ञ नरहेको स्पष्ट पारे ।

“रोजगारी सृजना हुन नसक्नु, विपे्रषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामन्जस्यता नहुँदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेला बेलामा विध्न बाधा देखा पर्ने गरेका छन,” उनले भने । नेपालमा रोजगारी सृजना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्ने उनको बुझाई छ । आफुले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सवैको ध्यानाकर्षण गराएको उनले बताए । “धेरै राजनीतिको तानावानामा नअल्झिकन मुलुकको आर्थिक अवस्था सुदृढ गर्नका लागि सबैको ध्यानाकर्षण गराएको छु,” उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सुचकहरू सकारात्मक रहेपनि आम नागरिक र व्यवसायीहरूको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरोकारवालाले ध्यान जानुपर्ने बताए । भेटका अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्र र सर्वसाधारणको मनोबल घटेको अहिलेको अवस्थामा बजारमा माग सिर्जना गर्न सरकार, केन्द्रिय बैंक र निजी क्षेत्रले एक आपसमा सहकार्य गर्नुपर्ने सुझाए ।

सरकारले पूँजीगत खर्च गर्न नसकेको र बैंक वित्तिय संस्थाहरुबाट पनि कर्जा प्रवाह हुन नसकेको अवस्थामा बजारमा मागको कमी आएको ढकालको बुझाई छ । व्यवसाय शतप्रतिशत चल्न सक्ने आधारमा राजश्वको लक्ष्य राखिएको हुन्छ । तर व्यवसाय दुई तिहाइ खुम्चिदा करिब पाँच दशकपछि अघिल्लो बर्षभन्दा कम राजश्व संकलन भएको छ । यससंगै सरकारी लक्ष्यभन्दा ६ प्रतिशत विन्दुले कम आर्थिक वृद्धि हासिल भएको छ । त्यसैले पूँजीको लागत घटाइ बजारमा रकम प्रवाह गर्नुपर्ने धारणा अध्यक्ष ढकालको थियो । यसैगरि अध्यक्ष ढकालले निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण गर्न र पर्यटन प्रवद्र्धनमा विशेष पहल आवश्यक रहेको वताए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।