ब्रोकर नम्बर ६५ को औपचारिक सुरुवात, हमाल भन्छन्, “बजार प्रविधिमैत्री बनाउँ”


शेयर प्रो सेक्यूरिटीज प्रा. लि.( शेयर दलाल नं.६५ ) ले शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको छ । एक कार्यक्रमका बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले कम्पनीको सेवाको औपचारिक सुरुवात गरेका हुन् ।

कम्पनीले २०८० जेठ ९ गते धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाएको थियो । कम्पनीले यस अघि नै शेयर दलाली तथा निक्षेप सदस्यको सेवा प्रदान गर्दै आइरहेको छ ।

उद्घाटन कार्यक्रममा अध्यक्ष हमालले कम्पनीलाई बधाई दिदैं उच्चतम् प्रतिस्पर्धा र प्रविधिको प्रयोगबाट नै शेयर बजारमा सकारात्मक परिवर्तन हुदैं जाने विश्वास व्यक्त गरेका थिए । ग्राहकहरुको सन्तुष्टिमा नै कम्पनीको प्रगती भर पर्नेमा उनले जोड दिएका थिए ।

आफ्नो उद्घाटनको शुभ उपलक्ष्यमा कम्पनीले साता व्यापी कार्यक्रम “शुभारम्भ सप्ताह” समेत सार्वजनिक गरेको छ । यो कार्यक्रम भदौ ८ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । उक्त अवधिमा पर्ने शनिबार तथा सार्वजनिक विदाको दिन समेत बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ढल्कुमा रहेको कम्पनीको कार्यालय खुल्ला हुनेछ ।

कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जो कोही व्यक्तिले उक्त कार्यक्रममा सहभागी भएर अनलाइन कारोबार तथा निक्षेप सेवाका सम्बन्धमा आवश्यक जानकारी लिई लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।