सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नेपाल मै पहिलोपटक सुरु गर्यो डिजिटल बीमा

0
Shares

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नेपालमै पहिलो पटक विद्युतिय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न ‘एसपीआईएल डिजी’ प्रणाली प्रचलनमा ल्याएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले संयुक्त रुपमायस प्रणालीको शुभारम्भ गरेका हुन् । सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक यो प्रणाली ल्याईएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस प्रणालीको प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकम सम्मको बीमा दाबी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् । यस माध्यमबाट ५० हजार रुपैयाँसम्मको भुक्तानी एकै दिनमा हुने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरण अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सराहना गर्दै प्रभावकारी रुपमा सञ्चालन गर्न शुभकामना दिए । समयमा बीमा दाबी भुक्तानी गर्न सकेको खण्डमा मात्रै बीमितको विश्वास जित्न सक्नुका साथै बीमाको बजार बढाउन पनि मद्दत पुग्ने उनको भनाई थियो । सस्तो प्रोडक्टमै सुविधा प्लस गर्न सक्दा मात्रै बीमितहरुलाई आकर्षण गर्न नसक्ने हुँदा प्रोडक्टलाई सस्तो बनाउन ध्यान दिन उनले आग्रह गरे ।

कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले कम्पनीले विद्युतिय माध्यमबाट प्रभावकारी बीमा सेवा प्रदान गर्न क्रियासिल रहेको बताए । प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र वैदवार क्षेत्रीले क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने लक्ष्य अनुरुप यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउने तर्फ थप क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे ।

कम्पनीका अनुसार एसपीआईएलजी डिजिटल प्रणाली भएको हुँदा अनलाईन भुक्तानी मार्फत कम्पनीमा बीमा शुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति बिना विमालेख खरिद गर्न सकिनेछ । बीमितले निश्चित रकम सम्मको बीमा दाबी फर्छयौट गरी भुक्तानी लिन र बीमा दाबीको अवस्थाको बारेमा जानकारी समेत लिन सक्नेछन् । यसबाट समय र लागत घट्न जाने र झन्झट रहित तरिकावाट बीमा सेवा लिन एवम् प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।