सन् नेपाल लाइफको आईपीओ कहिले हुँदैछ बाँडफाँड ?

0
Shares

सन् नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मुल्यमा निष्काशन गरेको आईपीओ आगामी बुधबार बाँडफाँड गर्ने तयारी गरिएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले आइतबार प्रि–अलटमेन्ट गरी बुधबार बाँडफाँडको तयारी गरेको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४, बमोजिम हुने बाँडफाँडमा कम्पनीको आईपीओ भाग्यमानी ७ लाख ६८ हजार आवेदकले पाउनेछन् । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकोले निर्देशिका अनुसार आईपीओ बाँडफाँड गर्दा न्यूनतम १० कित्ताका दरले वितरण गर्नुपर्ने हुन्छ । जसअनुसार सबै आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्न अपुग हुने हुँदा गोलाप्रथाबाट सेयर पाउने लगानीकर्ता छनोट हुनेछ ।

आइपीओमा पौने १६ लाख बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अन्तिम दिनसम्मको तथ्याङ्क अनुसार इन्स्योरेन्सको आईपीओमा १५ लाख ८० हजार ४९० जनाले ४ अर्ब २६ करोड ८६ लाख ४० हजार ३८० रुपैयाँ बराबरको १ करोड ७८ लाख ६० हजार ४२० कित्ताका लागि आवेदन परेको छ ।

अन्तिम दिनको तथ्याङ्कलाई आधार मान्दा ८ लाख १२ हजार ४९० जनाको हात खाली हुनेछ । यो कुल आवेदकको ५१.४१ प्रतिशत बराबरको हो ।

कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल ९६ लाख कित्ता निष्कासन गरेको थियो । जसमध्ये ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड भैसकेको छ । सामुहिक लगानी कोषका लागि ४ लाख ८० हजार कित्ता र कम्पनीका कर्मचारीहरुका लागि ४ लाख ८० हजार कित्ता सुरक्षित राखेको थियो । बाँकी ७६ लाख ८० हजार कित्ता बिक्रीका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा सेयर बिक्री गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।