सरकारले १५ अर्बको ट्रेजरी बिल्स नवीकरण गर्दै


सरकारले लिएको पुरानो आन्तरिक ऋण भुक्तान गर्न नसक्ने भएपनि नवीकरण गर्ने भएको छ । सरकारले २८ र ९१ दिने अवधिमा १३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरण गर्न लागेको हो । 

सरकारका लागि नेपाल राष्ट्र बैंकले भदौ ११ गते सोमबार उक्त ट्रेजरी नवीकरणका लागि बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १३ करोड रुपैयाँ ट्रेजरीको बोलकबोल गर्न लागेको हो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायत सहभागि हुन सक्छन । 

यसभन्दा अघि केन्द्रीय बैंकले भदौ ४ गते ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ९१ दिने र २ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल्सको नवीकरणका लागि बोल गरेको थियो । उक्त नवीकरण बोलमा ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ५.८१७० प्रतिशत कायम भएको थियो । त्यसैगरी ३६४ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ६.४३९३ प्रतिशत कायम भएको थियो । 

पछिल्लो समयमा बैंक वित्तीय संस्थामा तरलता सहज भएपनि निक्षेपको ब्याजदर बढेको अवस्था छ । बैंकहरुले निक्षेपको ब्याजदर बढाएको र कर्जाको विस्तार हुन नसकेको हुनाले ट्रेजरीको लगानीमा बैंक वित्तीय संस्थाले डिस्काउन्ट रेट बढाएर माग गर्ने गरेका छन् । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।