सेयर बजारमा मन्दी, दैनिक कारोबार अर्बमुनी झर्‍यो

0
Shares

सेयर बजारमा मन्दी छाउँदा दैनिक कारोबार रकम एक अर्बभन्दा तल झरेको छ । यसअघि दैनिक डेढ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा पछिल्लो दिनमा अर्बभन्दा कम मात्रै कारोबार हुन थालेको हो ।

आइतबार नेप्से सूचक २ हजार बिन्दुभन्दा तल झरेपछि दोस्रो बजारमा सेयर खरिद गर्न लगानीकर्ता नचाहेका हुन् । लगानीकर्तामा बजार कता जान्छ भन्ने दोधारमा हुँदा अझैपनि ‘पर्ख र हेर’ को अवस्थामा रहँदा कारोबार अर्बभन्दा तल कायम भएको हो । लाभांश सिजनमा नै दैनिक कारोबार रकम एक अर्ब नपुग्नुले सेयर बजारप्रति लगानीकर्ताको वितृणा रहेको देखिन्छ ।

सोमबार नेप्से सूचक ०.२५ प्रतिशत अर्थात ५.०९ अंकले बढेको छ । यससँगै सूचक १९९८ दशमलव ४८ बिन्दुमा अडिएको छ । बढेर अधिकतम २००९ बिन्दुसम्म उक्लिएको बजार टिक्न नसक्दा पुनः ओरालो लागेको थियो । त्यसैगरी, यस दिन ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.४५ अंक बढेर ३८३ दशमलव ५६ बिन्दुमा पुगेको छ । यसअघि आइतबार नेप्से २०.५४ अंक र बिहीबार ३१.५२ अंकले नेप्से घटेको थियो ।

यसदिन २७९ कम्पनीका ३६ लाख ७० हजार ७३१ कित्ता सेयर ३१ हजार ५९९ वटा संख्यामा खरिद बिक्री भई कारोबार रकम ९८ करोड ८६ लाख २८ हजार ५६२ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन आइतबार १ अर्ब २६ करोड २७ लाख रुपैयाँको कारोबार भएकोमा २७ करोड४१ लाख रुपैयाँले कारोबार घटेको हो ।

यस दिन १३ वटै उपसमूहगत सूचकमध्ये ९ वटा बढेको छ भने ४ वटा घटेको छ । अन्य, जलविद्युत, उत्पादन तथा प्रशोधनमुलक र माइक्रोफाइनान्स इन्डेक्स घटेका छन् । बैंकिङ्ग, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटनमुलक, लगानी, म्यचुअल फन्ड र ब्यापार बढेका छन् । सबैसूचक १ प्रतिशतभन्दा कमले वृद्धि वा ऋणात्मक भएका छन् ।

कारोबार रकमका आधारमा सोमबारदेदि कारोबार खुलेको लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ । मर्जरपछि एलएसएल कारोबार संकेतमा दोस्रो बजारमा कारोबार भएको बैंकको सेयरमूल्य ४.७१ प्रतिशतले बढेर १८१ रुपैयाँ २० पैसा पुगेको हो । यसैगरी सोल्टी होटल ४ करोड ९८ लाख, आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड ८४ लाख, घोराही सिमेन्ट्सको २ करोड ५२ लाख र शिवम् सिमेन्टसको २ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा लगातार छैटौं दिन सकारात्मक सर्किट लागेर ८४८ रुपैयाँ ३० पैसा पुगेको छ । सोमबार मात्रै कम्पनीको सेयर ७७ रुपैयाँ १० पैसाले बढेको हो । जलविद्युत कम्पनीहरुमा कुथेली बुखरीभन्दा माउन्टेन इनर्जी लिमिटेडको मात्रै सेयर मूल्य धेरै छ । कम्पनीको सेयर मूल्य जलविद्युत क्षेत्रमा दोस्रो ठूलो हो । यस्तै लक्ष्मी सनराइज बैंकको ४.७१ प्रतिशत, सिटी होटल ४.४८ प्रतिशत, न्यादी हाइड्रोपावर ४.२३ प्रतिशत र माछापुच्छ्रे बैंकको सेयर ३.३२ प्रतिशतले बढेको छ ।

उता आजको बजारमा स्वाभिमान लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.३८ प्रतिशतले घटेको छ । मनकामना स्मार्ट लघुवित्त, मिर्मिरे लघुवित्त, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ र पिपल्स पावर लिमिटेडका सेयरधनीले आजको बजारबाट ३.२१ प्रतिशतले गुमाएका छन् ।

सोमबारको कारोबारपछि समग्र बजार पुँजीकरण पनि बढेर २९ खर्ब ९१ अर्ब ७८ करोड १५ लाख कायम भएको छ । अघिल्लो दिन आइतबार २९ खर्ब ८४ अर्ब १९ करोड ९० लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।