नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ निष्कासन गर्ने

0
Shares

श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको साधारण सेयरको सार्वजनिक निष्काशन नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड मार्फत हुने भएको छ । दुई कम्पनीबीच भदौ ११ गते आईपीओ निष्काशन गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको हो ।

श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीले आफ्नो जारी पूँजीको १३ प्रतिशत सेयर जारी गर्नेछ । यसअनुसार अंकित मूल्य १०० रुपैयाँ दरको १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता साधारण सेयरको सार्वजनिक गर्न लागेको हो ।

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निकट भविष्यमा सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न लागेको हो । सम्झौतापत्रमा श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीस चन्द श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच हस्ताक्षर सम्पन्न भएको हो ।

श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयमा बिधिवत दर्ता भई सञ्चालनमा रहेको छ । कम्पनीको रजिष्टार कार्यालय काठमाण्डौं महानगरपालिका, वडा नम्बर १ थिरवम सडक, टंगाल काठमाण्डौंमा रहेको छ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड नेपालकै पहिलो आईएसओ ९००१ः २०१५ प्रमाणित एकीकृत कृषि व्यवसाय हो ।

श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले कृषि अन्तर्गतको व्यवसाय इं.सं.२००२ मा श्रीनगर एग्रो फार्मको स्थापना बाट सुरु गरेको थियो । फार्म अन्तर्गत ह्याचरी तथा ब्रीडरबाट कुखुराको चल्ला उत्पादन गर्दै इ.स. २०१७ देखि श्रीनगर एग्रीटेक इण्डष्ट्रिज प्रा. लि.बाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य सुरू गर्दै कम्पनीले शुद्दोधन–४ रुपन्देहीमा दाना कारखाना, व्यवसायिक कृषि फार्म स्थापना गरेको छ । पाल्पाको तेल्घामा ब्रिडर फार्म सञ्चालनमा ल्याएको छ ।

कम्पनीले व्यापार विस्तारको क्रममा बुटवल, रुपन्देहीमा वद्यशालाको स्थापना गर्ने योजना गरेको छ । कम्पनीले भविष्यमा प्रशोधित मासु उपभोत्तामाझ ल्याउनको लागि प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने योजना रहेको छ ।

कम्पनीले, श्रीकिसान इनोभेसन हवको माध्मयबाट किसानहरुको क्षमता अभिवृद्दि गर्नका लागि समय–समयमा तालिम प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुलाई कृषि खेती, पशुपन्क्षी पालन तथा व्यवसायसँग सम्बन्धित अन्य कार्य र प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।

उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको शेयर सार्वजनिक निष्काशन सम्बन्धि कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।