क्यापिटल म्याक्सद्धारा माछापुच्छ्रे बैंकको सेयरमा इन्साइडर ट्रेडिङ


क्यापिटल म्याक्स सेक्युरिटिजले भित्रि सुचनाका आधारमा पछिल्ला दिनहरुमा माछापुच्छ्रे बैंकको सेयर अस्वभाविक रुपमा खरिद गरेको छ । बैंकले १४ प्रतिशत लाभांस दिने सूचनालाई आधार बनाई क्यापिटलले सोमबार र मंगलबार कुल कारोबारको करिब ५५ प्रतिशत सेयर खरिद गरेका हो ।

बैंक सञ्चालक समितिको बैठक बस्ने तथा लाभांश प्रस्ताव गर्ने भित्री सूचनाका आधारमा क्यापिटल म्याक्सले अधिक सेयर खरिद गरेको पछिल्ला २ दिनको कारोबारमा देखिन्छ । क्यापिटल म्याक्सले २ कारोबार दिनमा माछापुच्छ्रेको १ लाख १३ हजार ८८५ कित्ता सेयर खरिद गरेको छ । सोमबार र मंगलबार म्याक्सले सेयर खरिद गरिसकेपछि बैंक सञ्चालक समितिले बुधबार सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

२०८० भदौ ११ गते सोमबार र १२ गते मंगलबार दोस्रो बजारमा माछापुच्छ्रे बैंकको २ लाख ११ हजार ८४९ कित्ता सेयर कारोबार भएको छ । कुल कारोबारका आधारमा क्यापिटल म्याक्सले २ दिनमा ५३.७५ प्रतिशत सेयर खरिद गरेको हो ।

गत सोमबार माछापुच्छ्रे बैंकको कुल ७६ हजार ८४४ कित्ता सेयर कारोबार भएकोमा क्यापिटल म्याक्सले मात्र ४१ हजार ८८३ कित्ता सेयर खरिद गरेको हो । कारोबार भएको कुल सेयरको ५४.४४ प्रतिशत सेयर क्यापिटल म्याक्सले खरिद गरेको हो । उक्त दिन क्यापिटल म्याक्सले औषतमा प्रतिकित्ता २७० रुपैयाँ १४ पैसाको दरमा सेयर खरिद गरेको तथ्यांकले देखाउँछ । उक्त दिन क्यापिटल म्याक्सबाट जम्मा १० कित्ता मात्र सेयर बिक्री भएको छ ।

मंगलबार बैंकको लाभांशको विषय चुहिने क्रम बढेसँगै कुल १ लाख १ लाख ३५ हजार ५ कित्ता सेयर कारोबार भएकोमा क्यापिटल म्याक्सले मात्र ७२ हजार ५२ कित्ता सेयर खरिद गरेको छ । मंगलबार पनि म्यापिटल म्याक्सले कुल कारोबारमा आएको सेयरको ५३.३७ प्रतिशत सेयर खरिद गरेको हो । मंगलबार क्यापिटल म्याक्सले औषतमा २६८ रुपैयाँ १२ पैसाको दरमा माछापुच्छ्रे बैंकको सेयर खरिद गरेको तथ्यांकले देखाउँछ ।

केही समय अघि सञ्चालन अनुमति पाएर नियमित कारोबार सुरु गरेसँगै भित्री कारोबार सुरु गरेको क्यापिटल म्याक्सको चर्चा लगानीकर्ताका बीचमा चुलिएको छ । यता बुधबार बैंकको लाभांश सार्वजनिक भएसँगै क्यापिटल म्याक्सले माछापुच्छ्रे बैंकको सेयर बिक्रीमा चाप उत्पन्न गराएको छ । सेयर मूल्यमा खासै असर नपरेको अवस्थामा क्यापिटल म्याक्सले माछापुच्छ्रे बैंकको १ लाख ६ हजार ९७३ कित्ता सेयर २ करोड ९४ लाख ९६ हजार ५७ रुपैयामा बिक्री गरेको छ । क्यापिटल म्याक्सले औषतमा २७५ रुपैयाँ ७३ पैसा प्रतिकित्ताको दरमा सेयर बिक्री गरेको हो । बुधबार क्यापिटल म्याक्सले १२ हजार २५५ कित्ता सेयर मात्र खरिद गरेको छ ।

यता नियामक निकाय नेपाल धितोपत्र बोर्डले यस सम्बन्धमा केही जानकारीहरु आए पनि वास्तविकता बुझ्न बाँकी रहेको जनाएको छ । बोर्डका सूचना अधिकारी तेज प्रसाद देवकोटाका अनुसार नियमन तथा सुपरिवेक्षण विभागले माछापुच्छ्रे बैंकको सेयर कारोबार कुन किसिमको हो भनेर अनुसन्धान गर्ने बताए । सो पश्चात मात्र थप कार्वाही प्रकृया अघि बढाइने उनले जानकारी दिए ।

के हो भित्री कारोबार ?

कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आफुले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफुलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिन्छ।

“भित्री सूचना वा जानकारी” भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी का रुपमा बुझिन्छ ।

भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्तिः

संगठित संस्थाका सञ्चालक, कर्मचारी वा शेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति, सो संगठित संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति भित्री कारोबारमा संलग्न हुन सक्नेछन् ।

भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसुर तथा दण्ड सजायको व्यवस्था:

धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९–मा ‘धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसुर तथा दण्ड सजायको व्यवस्था’ गरिएको छ । जसमा संगठित संस्थाको सञ्चालक, कर्मचारी वा सेयरवाला हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्ने व्यक्ति, संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्तिलाई जनाएको छ । ऐनमा इन्साइडर ट्रेडिङ गर्नेलाई बिगो बराबरको जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था  छ । 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।