आईफोन १५ भदौ २६ मा सार्वजनिक हुँदै, के-के छन् फिचर ?


एप्पलले आईफोन १५ लाइनअप भदौ २६ गते सार्वजनिक गर्ने घोषणा गरेको छ । मंगलबार आधिकारिक वेबसाइट मार्फत कम्पनीले १२ सेप्टेम्बर (भदौ २६) मा एप्पल इभेन्ट हुने घोषणा गरेको हो ।

क्यालिफोर्नियामा रहेको स्टिभ जब्स थ्रियटरमा हुने इभेन्टको मुख्य आकर्षण आईफोन १५ सिरिज हुनेछ । अघिल्लो वर्ष सार्वजनिक भएको आईफोन १४ मा ब्याट्री हेल्थ चाँडै घटेको भन्दै प्रयोगकर्ताले गुनासो गरे पछि, आईफोन १५ का मोडेलहरूका लागि एप्पलले विशेष सतर्कता अपनाएको छ ।

कम्पनीले आईफोन १५ सिरिजसँगै नयाँ संस्करणका आईप्याड, म्याक, वेयरेबल र विभिन्न सर्भिस सार्वजनिक गर्ने जनाएको छ । आईफोन १५ लाइनअप अन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

डिजाइन

विभिन्न सूचना र लिकरहरूले सार्वजनिक गरेको जानकारी अनुसार आईफोन १५ को डिजाइनमा त्यति धेरै परिवर्तन गरिएको छैन । आईफोन १४ को प्रो र प्रो म्याक्स मोडेलमा मात्र उपलब्ध डाइनामिक आइल्यान्ड फिचर आईफोन १५ का सबै लाइनअपमा हुनेछ । आईफोन १५ प्रो र १५ प्रो म्याक्सलाई विशेष बनाउन एप्पलले टाइटानियम बडीलाई हटाएर स्टेनलेस स्टिल राख्न लागेको लिकरले उल्लेख गरेका छन् । अन्य मोडेलभन्दा यी दुई मोडेलको बेजल पातलो हुने बताइएको छ ।

कलर

आईफोन १५ र आईफोन १५ प्लस एउटै कलरमा उपलब्ध हुनेछन् । विशेषगरी मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिङ्क कलरमा उपलब्ध हुनेछ । आईफोन १५ प्रो र प्रो म्याक्स मोडेल भने टाइटन ग्रे, डार्क ब्लु, सिल्भर र स्पेस ब्ल्याक कलरमा उपलब्ध हुने बताइएको छ ।

प्रोसेसर

एप्पलले हरेक नयाँ मोडेल सार्वजनिक गरेसँगै नयाँ प्रोसेसर उपलब्ध गराउने गर्छ । गत वर्ष आईफोन १४ प्रो र प्रो म्याक्समा दिइएको ए१६ बायोनिक चिपसेट अब आईफोन १५ र आईफोन १५ प्लस उपलब्ध हुनेछ । आईफोन १५ प्रो र १५ प्रो म्याक्समा भने एप्पलको नयाँ प्रोसेसर ए१७ बायोनिक चिप रहनेछ ।

र्‍याम तथा स्टोरेज

आईफोन १५ मा एप्पलले उपलब्ध गराउने उच्चतम र्‍याम ६ जीबी हो । तर, ८ जीबी र्‍याम उपलब्ध गराउन सक्ने सम्भावना पनि उत्तिकै छ । इन्टर्नल स्टोरेजको सन्दर्भमा यो वर्ष एप्पलले आईफोन १५ प्रो र प्रो म्याक्समा २५६ जीबी, ५१२ जीबी, १ टीबी र २ टीबी इन्टर्नल स्टोरेज उपलब्ध गराउने अपेक्षा गरिएको छ । आईफोन १५ र १५ प्लस भने १२८ जीबी, २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।

क्यामेरा

क्यामेराको सन्दर्भमा आईफोन १५ र आईफोन १५ प्लसमा ४८ मेगापिक्सेलको मुख्य र १२ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल लेन्स हुनेछ । आईफोन १५ प्रोमा ४८ मेगापिक्सेलको मुख्य, १२ मेगापिक्सेलको अल्ट्रावाइड र १२ मेगापिक्सेलको टेलिफोटो लेन्स हुने बताइएको छ । आईफोन १५ प्रो म्याक्समा भने ४८ मेगापिक्सेलको सोनी आईएमएक्स ९०३ सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल लेन्स र १२ मेगापिक्सेलको टेलिफोटो पेरिस्कोप लेन्स रहनेछ । यी सबै मोडेलमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध हुने लिकरले उल्लेख गरेका छन् ।​

ब्याट्री र चार्जिङ

यसो त एप्पलले ब्याट्री क्षमताको बारेमा त्यति जानकारी दिँदैन । तर, लिकरहरूले विभिन्न स्रोतबाट नयाँ मोडेलमा हुने ब्याट्री क्षमता लिक गरिरहेका हुन्छन् । उनीहरूका अनुसार आईफोन १५ मा ३८७७ एमएएच क्षमताको ब्याट्री हुनेछ भने १५ प्लसमा ४९१२ एमएएच क्षमताको ब्याट्री हुनेछ । आईफोन १५ प्रोमा ३६५० एमएएच र आईफोन १५ प्रो म्याक्समा ४८५२ एमएएच क्षमताको ब्याट्री हुने बताइएको छ । यी दुई मोडेलमा मात्र यूएसबी-सी पोर्ट उपलब्ध हुने सम्भावना छ ।

मूल्य

आईफोन १५ लाइनअपको मूल्य अघिल्ला मोडेलहरूको तुलनामा केही बढी हुने चर्चा छ । लिक गर्ने विभिन्न स्रोतलाई आधार मान्ने हो भने आईफोन १५ को मूल्य ७९९ डलर, आईफोन १५ प्लसको मूल्य ८९९ डलर, आईफोन १५ प्रोको मूल्य १०९९ डलर र आईफोन १५ प्रो म्याक्सको मूल्य १२९९ डलरबाट सुरु हुने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।