ग्लोबल आइएमई बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेशिन सञ्चालनमा


ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ ।

मेशिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेशिन मार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौँ उपत्यकामा कमलादी र न्यूरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाभित्र कमलादी, न्यूरोड, कुलेश्वर तथा काठमाडौँ उपत्यका बाहिर पोखरा र वीरगञ्ज शाखामा चेक डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंक सञ्चालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेशिनको उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आम उपझोक्ताको आकांक्षा अनुरुप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको र ग्लोबल आइएमई बैंकले पनि समयानुकूल नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्न खोजेको बताएका थिए ।

“यो मेशिन इफिसिन्यसी, सुविधा र सुरक्षाको मिश्रण हो । यसले ग्राहकलाई आफ्नो अनुकूल समयमा, विना कुनै कागजी प्रकृया सुविधाजनक हिसाबले क्यास तथा चेक डिपोजिट गर्न सहयोग पुग्नेछ । समयको बचत हुनेछ । २४ घण्टा सेवा उपलब्ध हुने हुँदा सेवा आफ्नो अनुकूल लिन सकिनेछ,” ढकालले भने ।

बैंकले ३४८ शाखा कार्यालय, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।