नाफा सुरक्षित गर्ने होडले बढ्दै गरेको बजार अन्त्यमा भयो नकारात्मक

0
Shares

साताको तेस्रो दिन मंगलबारको शेयर बजार आरालो लागेको छ । अघिल्लो दिन उच्च अंकले बढेको बजारमा नाफा सुरक्षित गर्नेहरु सक्रिय हुँदा कारोबार बढेपनि बजार बढ्न सकेन । सोमबार नेप्से झण्डै १८ अंक उक्लिएको थियो ।

बजार खुलेदेखि अघिकै दिनजस्तै वृद्धिको लयमा देखिएको थियो। एक समय बजार खुलेको विन्दु भन्दा आठ अंक माथिसम्म पुगेको बजारमा नाफा सुरक्षित गर्ने होडले बिक्री चाप पर्न जादा बजार बन्द हुने समयसम्म आईपुग्दा नकारात्मक हुन पुग्यो । बजार सामान्य घटेपनि कारोबार रकममा भएको सुधारले भने बजारलाई टेवा दिएको छ । यसले बजार आगामी दिन सुध्रने संकेत गर्दछ ।

मंगलबार नेप्से २.३७ अंकले घटेर ११६६.२१ विन्दुमा झरेको छ । यसदिन १७१ कम्पनीको ७२ करोड बढीको शेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १२ करोड बढी हो ।

यसदिन सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ३३ लाख रुपियाँ बराबरको शेयर किनबेच भयो । त्यसैगरी, नागरिक लगानीकोषको पनि आठ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

कारोबारमा आएकामध्ये ५ बाहेक अन्य सबै समूहको सूचक घटेको छ आज बैंकिङ, ब्यापार, अन्य, म्युचल फण्ड तथा फाइनान्स समूहमा सुधार आएपनि अन्य समूह ओरालो लागे ।

यसदिन सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतले बढ्यो । कन्चन डेभलपमेन्ट, पाँचथरपावर, छ्याङदी हाइड्रो लगायतको शेयर मूल्य नौ प्रतिशत धेरैले बढ्यो । सबैभन्दा धेरै आँखु खोला जलविद्युतको शेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेर प्रतिकित्ता ५३ रुपैयाँमा झरेको छ ।