व्यक्तिगत तथा गैर–व्यवसायिक कर्जामा कडाई, सीमाभन्दा वढी दिए सुक्ष्म निगरानीमा

0
Shares

नेपाल राष्ट्र बैंकले गैर–व्यवसायिक व्यक्तिगत कर्जामा कडाई गरेको छ । केन्द्रीय बैंकले व्यक्तिगत प्रकृतिका कर्जामा कर चुक्ताको प्रमाण पत्र अनिवार्य गरेको हो।

नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा, तथा हायर पर्चेज कर्जा लगायतका किस्तामा आधारीत कर्जा प्रवाह गर्दा बैंक वित्तीय संस्थाले ऋणीको ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशत सिमामा कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्ता प्रकृतिका कर्जा दिदा बैंक तथा वित्तीय संस्थाले ऋणीको आय स्रोत खुल्ने प्रमाणित कागजात संलग्न हुनुपर्ने व्यवस्था गरेको छ ।

सो आम्दानीको प्रमाणीत कागजपत्रसंगै ऋणीले पेश गरेको आम्दानीको स्रोतमा कर चुक्ता/ दाखिला गरेको र वा अद्यावधिक कर चुक्ता प्रमाणपत्रको आधारमा मात्र ऋणीको वार्षिक कुल आय गणना गर्नु पर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्थालाइ परिपत्र मात्र गरेको केन्द्रीय बैंकका एक अधिकारीले बताए । “बैंकहरुले ऋण भुक्तानी आम्दानी अनुपात विश्लेषण गरेर कर्जा दिने गरेका थिए,”ती अधिकारीले भने,“यसभन्दा अघि यस्तो व्यवस्था थिएन्, यसभन्दा अघि बैंकहरु आफैले जोखिम मूल्याङकन गरेर व्यक्तिगत कर्जा प्रबाह गर्दै आएका थिए ।”

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत कर्जा ऋणीको आयको अधिकतम सीमा भन्दा वढी हुने गरी कर्जा प्रबाह गरेमा सो कर्जालाइ सुक्ष्म निगरानी अन्गर्तत वर्गीकरण गर्नु पर्ने व्वयस्था गरिएको छ ।

बैंक वित्तीय संस्थाले अनुत्पादन तथा व्यक्तिगत प्रकृतिको कर्जामा धेरै जोड दिई नाफामा केन्द्रित भएपनि नेपाल राष्ट्र बैंकले यस्ता कर्जा प्रबाहमा कडाइ गरेको हो।