खुकुरी रम उत्पादक नेपाल डिस्टीलरीको आम्दानीमा गिरावट

0
Shares

प्रख्यात मदिरा ब्रान्ड ‘खुकुरी रम’ उत्पादक कम्पनी नेपाल डिस्टीलरी प्रालीको आम्दानीमा गिरावट आएको छ ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीले १ अर्ब ८६ करोड ६० लाख (अपरिष्कृत) सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १ अर्ब ९० करोड ४० लाख सञ्चालन आम्दानी गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन आम्दानी ३ करोड ८० लाखले घटेको हो ।

कम्पनीको आम्दानीमा गिरावट आएसँगै कम्पनीको वित्तीय सूचांकमा समेत गिरावट आएको हो । हसकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षमा कुल सञ्चालन आम्दानीको ३३.९ प्रतिशत थियो भने गत आवमा सो नाफा घटेर २४.८ प्रतिशतमा कायम भएको छ।

सन् १९६१ मा स्थापना भएको कम्पनीले खुकुरी रम, खुकुरी स्पेशल, जोन बूल, नेपोलिवोन, गाउँले, वल्ड रिजर्भ ह्वीस्की ब्रान्डनामबाट आफ्नो उत्पादन गर्दै आएको छ । कम्पनीमा शरद तिम्बारेवाला र वसन्त चौधरीको क्रमश ८० प्रतिशत र २० प्रतिशत हिस्सा रहेको छ ।

कम्पनीले ६६ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ६ करोड बराबरको दीर्घकालीन कर्जाका लागि ‘ए माइन्स’ र ६० करोड बराबरको अल्पकालीन कर्जाका लागि ‘ए२’ रेटिङ गरेको छ । यस अघि रेटिङका लागि आवश्यक पर्ने जानकारी कम्पनीले उपलब्ध नगराएका कारण एजेन्सीले कम्पनीलाई ‘इस्सुअर नट कोअपरेटिङ’को सूचीमा राखेको थियो । तथापि कम्पनीले आफ्नो वित्तीय विवरण उपलब्ध गराएसँगै एजेन्सीले कम्पनीलाई ‘इस्सुअर नट कोअपरेटिङ’को सूचीबाट हटाएको छ ।

कम्पनीको पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल ऋणको ७.८ गुणा रहेको छ । पछिल्लो समयमा सरकारले मादक पदार्थमा ४ प्रतिशतको अन्तशुल्क बढाएपछि कम्पनीको आम्दानीमा प्रभाव परेको देखिन्छ । तथापि नेपालमा खुकुरी रमको बजारीकरण आक्रामक रहँदै आएको छ । नेपालीहरुको रोजाइमा खुकुरी रम पर्ने गरेको छ । जसकारण कम्पनीको वित्तीय छवि बलियो रहेको छ भने आगामी समयमा आम्दानी बढ्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।