सोनापुर मिनरल्सको आईपीओ स्थानीयले गरे बहिस्कार, ६% पनि बिकेन

0
Shares

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा निष्काशन गरेको आईपीओ आयोजना प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुले बहिस्कार गरेका छन् । 

यसअघि घोराही सिमेन्टको आईपीओ बहिस्कार गरेका स्थानीय बासिन्दाले दोस्रो सिमेन्ट कम्पनी सोनापुरको आईपीओमा पनि न्यून आवेदन दिएका हुन् ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई अंकित मूल्यमा सेयर दिनको सट्टा कम्पनीले जगेडा कोषमा राखेर लाभांश वितरण गर्ने प्रयोजन सहित प्रिमियम मुल्य थप गरेपछि सेयर खरिद गर्न अनिच्छुक बनेका हुन् ।

अन्तिम दिन मंगलबारसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाले ६ प्रतिशत भन्दा कम सेयर खरिदका लागि मात्रै आवेदन दिएका हुन् । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलबार साँझसम्म कम्पनीको सेयर खरिदका लागि ४५८ जनाले ९१ हजार ३० कित्ता खरिदका लागि आवेदन दिएका हुन् । यो आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशित सेयरको ६ प्रतिशतभन्दा कम हो ।

स्थानीय स्तरमा ६ वटा वाणिन्य बैंकको शाखा मार्फत आवेदन संकलन गरेपनि स्थानीय बासिन्दाले प्रिमियम मूल्यमा सेयर निष्कासन गरेकाले आवेदन नदिएका हुन् । उद्योग प्रभावित क्षेत्रको कम्पनीको आइपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाले आईपीओमा न्यूनतम १० देखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।

कम्पनीले जारी पुँजीको ५ प्रतिशतले हुन आउने १५ लाख ३७ हजार ५२५ कित्ता उद्योग प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्काशन गरेको हो । निष्काशित सेयरमध्ये १४ लाख ४६ हजार ४९५ कित्ता (९४.०८ प्रतिशत) सेयर अवितरित भएको हो । अवितरित सेयर अब दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने सेयरमा थपेर जारी हुनेछ ।

कम्पनीले जारी पुँजीको ४० प्रतिशत अर्थात् कुल १ करोड २३ लाख २०० कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याउनेछ । कम्पनीले स्थानीयलाई अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँ दरले सेयर निष्काशन गरेको थियो ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।