पुसको पहिलो साता बैंकहरुमा ५ अर्ब निक्षेप थपियो

0
Shares

चालु आर्थिक वर्षको छैटौ महिना पुसको पहिलो साता बैंकहरुमा ५ अर्ब निक्षेप थपिएको छ । सो अवधिमा बैंकहरुले ३ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएसंगै बैंकहरुले कर्जा नियन्त्रण गर्न थालेपछि निक्षेपको तुलनामा कर्जा कम देखिएको हो ।

यसभन्दा अघि बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा प्रबाह धेरै हुने गरेको थियो । बैंकहरुसंग गत आर्थिक वर्षको अन्त्यमा आएको निक्षेप भएकाले पनि पहिलो त्रैमाससम्ममा निक्षेप भन्दा धेरै कर्जा प्रबाह गरेका थिए ।

चालु आर्थिक बर्षको पाँच महिना अर्थात मंसिरसम्मको तथ्याङकलाई हेर्दा २८ बाणिज्य बैंकमा कुल एक खर्ब १४ अर्ब निक्षेप थपिएको छ । यस अवधिमा बैंकहरुले १६८ अर्ब कर्जा प्रवाह गरेका छन् । बैंकहरुले निक्षेप भन्दा ५४ अर्ब बढी कर्जा प्रवाह गरेका छन् ।

चालु आर्थिक वर्षको पुस ४ गते सम्ममा वाणिज्य बैंकहरुमा कुल निक्षेप २९ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरुले कुल २६ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन ।

गत अषाढ मसान्तसम्म बैंकहरुमा कुल निक्षेप २८ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो भने त्यस अवधिमा बैंकहरुले कुल २४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

गत साता बाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले बढ्दा कर्जा बिस्तार ३ अर्ब रुपैयाँले मात्र विस्तार भएको छ । मंसिरमा बैंकहरुले ३० अर्ब निक्षेप बढाएर २७ अर्बले ऋण बिस्तार गरेका छन् । मंसिर महिनमा निक्षेपको तुलनामा ऋण बिस्तारको क्रमलाई बैंकहरुले सन्तुलनमा राख्न खोजेका छन् ।