काठमाडौँका प्रमुख शाह टाइम म्यागेजिनको १०० उदयीमान नेतृत्वको सूचीमा

0
Shares

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन ।
 
विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका उनलाई बुधबार सो पत्रिकाको अनलाइन संस्करणले एक सय उदयीमान नेतृत्वको सूचीमा समेटेको हो । 
 
स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय प्रमुख शाहले यथास्थितिमा मतदाताको भावनालाई सामाजिक सञ्जाल टिकटक, ट्विटर र इन्स्टाग्राम प्रयोग गर्दै आफ्नो पक्षमा पार्न सफल भएको पत्रिकाले उल्लेख गरेको छ ।
 
गोरखा भूकम्पले तहसनहस गरेको काठमाडौँमा प्रमुख शाहले फोहरको राम्रो विसर्जन र सरसफाइ, सुरक्षित पिउने पानीको व्यवस्था, सफा सडक र सहरी विकासका साथसाथै सांस्कृतिक सम्पदाको संरक्षणलगायत सरल प्रतिवद्धता र अभियान गरेर निर्वाचनमा सफल भएको पत्रिकामा जनाइएको छ । 
 
साथै फोहरको वर्गीकरण गर्न प्रारम्भ गरेको तथा फोहर व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर गरेकोसमेत पत्रिकामा उल्लेख छ । प्रमुख शाहले सहरका गैरकानुनी भवन भत्काउँदा तथा व्यवस्थापन गर्दा सहरी गरिबमा प्रभाव परेको र आलोचना भएकोसमेत जनाइएको छ । पत्रिकाले विभिन्न क्षेत्रमा एक सय उदयीमान व्यक्तित्वको सूची प्रकाशन गरेको छ ।
 
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।