हिमालयन रिले पनि प्रिमियममा आईपीओ ल्याउने, सेबाेनसँग अनुमति माग

0
Shares

हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि सर्वसाधारणमा प्रिमियम मूल्यमा साधारण सेयर बिक्रीमा ल्याउने भएको छ ।

दोस्रो पुनर्बीमा कम्पनीको रुपमा स्थापित एक्त कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०८ रुपैयाँ प्रिमियम थप गरी कुल २०८ रुपैयाँ दरमा सेयर बिक्री गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) सँग अनुमति मागेको छ । बोर्डका अनुसार हिमालयन रिले भदौ २८ गते ६ अर्ब २४ करोड मूल्यको ३ करोड कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको हो ।

हिमालयन रि इन्स्योरेन्सको २०७८ कार्तिक ८ गते आईतवार सम्पन्न पहिलो वार्षिक साधारण सभाबाट ३ करोड कित्ता प्राथमिक सेयर आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित ंभएको थियो । यस्तै २०७९ जेठ १२ बिहीबार सम्पन्न विशेष साधारण सभाबाट प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने प्रस्ताव अनुमोदन भएको थियो ।

हिमालयन रिको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एमएमबि क्यापिटल लिमिटेड रहेको छ ।

विसं २०७८ असारसम्म सरकारी स्वामित्व रहेको एक मात्र नेपाल पुनर्बीमा कम्पनी रहेकोमा त्यसपछि हिमालयन रि इन्स्योरेन्स नेपालको रिइन्स्योरेन्स बजारमा दोस्रो ‘प्लेयर’ को रुपमा ‘इन्ट्री’ भएको थियो । निजी क्षेत्रको लगानीमा स्थापित हिमालयन रिले गत आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा २९.५१ प्रतिशतले खुद नाफा वृद्धि गर्दै २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ कमाएको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ३८ करोड ४६ लाख २४ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । कम्पनीको चुक्ता पुँजी ७ अर्ब रहँदा वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८५ पैसा कायम भएको छ । २०७९ चैतसम्ममा हिमालयन रिले २४ करोड ७२ लाख ६१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले यस अवधिमा ७ अर्ब २१ करोड ९४ लाख रुपैयाँ दीर्घकालीन कर्जा तथा लगानी र १ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा गरेको छ ।

हिमालयन रिकाे २०७९ चैत मसान्तसम्म बीमा कोषमा १३ करोड ६९ लाख ७८ हजार रुपैयाँ तथा जगेडा कोषमा ३८ करोड ५८ लाख ३१ हजार रुपैयाँ सञ्चित गरेको छ । साथै महाविपत्ती कोष ४ लाख ६० हजारबाट मा १ करोड ५० लाख ५९ हजार रुपैयाँ सञ्चित गरेको छ । चैत मसान्तसम्म कम्पनीको कुल बीमा शुल्क संकलन रकम ३ अर्ब ५८ करोड ९१ लाख ३४ हजार रुपैयाँ छ । 

नेपालका स्थापित मारवाडी घरानाहरुकाे लगानी धेरै रहेको कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा चर्चित व्यवसायी शेखर गोल्छा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पदमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थी छन् ।

हिमालयन रिमा शंकर ग्रुप, केएल दुगड ग्रप, एमभी दुगड ग्रुप, गोल्छा ग्रुप, पशुपति मुरारका, भवानी राणा, सतिश मोर शेखर गोल्छा र दीपक भट्ट लगायतको लगानी रहेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले समेत कम्पनीमा कुल १ अर्ब लगानी गरेका छन् । हिमालयन रि-इन्स्योरेन्सको संस्थापक सेयरधनीहरुमा ४४ वटा प्राइभेट फर्म तथा कम्पनी सहित १०६ जनाको लगानी रहेको छ । सर्वसाधारणमा ३ करोडको साधारण सेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब रूपैयाँ पुग्नेछ ।

तत्कालीन बीमा समितिले २०७८ जेठमा हिमालयन रि इन्स्योरेन्सलाई पुनर्बीमा कम्पनी खोल्न अनुमति दिइएको थियो । कम्पनीले जेठ २३ गते, आइतबार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएको हो । साउन १० गते कारोबार स्वीकृति, सेयर तथा सञ्चालक लगत अभिलेख गरेको थियाे । २०७८ साउनदेखि कम्पनीले कारोबार थालेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।