अरुण तेस्रो आयोजनाको प्रवेश मार्ग आजदेखि अनिश्चितकालीन बन्द ,मुआब्जा विवाद

0
Shares

संखुवासभामा निर्माणधिन अरुण तेस्रोे आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भइसक्दा पनि प्रवेश मार्गको मुआब्जा विवाद अझै समाधान हुन सकेको छैन ।

सङ्खुवासभाको मकालु गाउँपालिका र चिचिला गाउँपालिकामा सो आयोजना निर्माणाधीन रहेको छ । छ्याङ्कुटीबाट विद्युतगृह दिदिङसम्मको मुआब्जा विवाद अहिलेसम्म मिल्न सकेको छैन । स्थानीयवासीले प्रवेश मार्ग आजदेखि अनिश्चितकालीन बन्द गरिदिएका छन् ।

छ्याङ्कुटीबाट पावरहाउससम्मको २४ किलोमिटर सडकको केही खण्डमा स्थानीयवासीले मुआब्जा पाएका छैनन । काम शुरु भएको तीन वर्ष बितिसक्दा पनि उचित मुआब्जा नपाएको उनीहरुले जनाएका छन् । पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताए।

स्थानीय बासिन्दा, निर्माणको जिम्मा पाएको भारतीय सतलज जलविद्युत निगम र स्थानीय प्रशासनसँग सहमति गरेर मुआब्जाको विवाद मिलाउने तयारी भइरहेको लगानी बोर्डले जनाएको छ ।

विद्युतगृहमा आउने बाँधको पानीलाई दुई वटा सुरुङमा बाँडेर स्टिल पाइपमार्फत पानी प्रवाह गरेर २२५–२२५ मेगावाट क्षमताको चार वटा टर्वाइन घुमाएर ९०० मेगावाट विद्युत् उत्पादन हुने छ ।