दुई महिनामा झण्डै १८ अर्ब वैदेशिक लगानी प्रतिवद्धता, साढे ५ हजारलाई रोजगारी

0
Shares

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै १८ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । उद्योग विभागका अनुसार साउन र भदौमा गरेर कुल १७ अर्ब ८५ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो ।

चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा विभिन्न देशबाट १११ वटा नयाँ उद्योगमा १४ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार भदौसम्म २ वटा ठूला, ५ वटा मध्यम र १०४ वटा साना उद्योगको लागि वैदेशिक लगानी स्वीकृत भएको हो ।

साथै, दुई महिनाको अवधिमा सेयर पर्चेज एग्रिमेन्ट (एसपीए)/सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) मार्फत् १२ वटा उद्योगमा ३ अर्ब २० करोड २१ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।

भदौमा ५१ वटा नयाँ उद्योगमा २ अर्ब ७२ करोड २४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । भदौमा एसपीए र एसएसएमार्फत् ११ वटा उद्योगमा ३ अर्ब १६ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ६० वटा उद्योगका लागि झण्डै १२ अर्ब रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएकोमा भदौमा करिब ६ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो । साउनमा ५४ साना, ४ वटा मध्यम तथा २ वटा ठूला उद्योगमा गरेर ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको थियो ।

उद्योग विभागका अनुसार भदौमा नयाँ उद्योग, एसपीए, एसएसए र टीटीए मार्फत ५ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको हो। दुई महिनाको अवधिमा लगानी प्रतिबद्धता प्राप्त भएका उद्योगहरुबाट ५ हजार ५०२ जनाले रोजगारी पाउने विभागको भनाई छ।

स्वीकृत औद्योगिक परियोजना मध्येमा पर्यटन क्षेत्रका ४८ प्रतिशत, ३९ प्रतिशत सेवा क्षेत्र, ८ प्रतिशत उत्पादन क्षेत्र, २ प्रतिशत सूचना तथा प्रविधि, १ प्रतिशत परियोजना कृषि क्षेत्रमा आधारित रहेका छन्। यस अवधिमा पर्यटन क्षेत्रमा ५३ वटा, सेवा क्षेत्रमा ४४ वटा, उत्पादन क्षेत्रमा ९ वटा, सूचना तथा प्रविधि क्षेत्रमा २ वटा, पूर्वाधार क्षेत्रमा २ वटा र कृषि क्षेत्रमा १ वटा उद्योगमा लगानी प्रतिबद्धता जनाइएको छ ।

यस्तै साउन र भदौमा गरेर दुई महिनाको अवधिमा व्यवसायिक भिसा मार्फत ५०४ लगानीकर्ता, ५४ प्रतिनिधि र १४३ आश्रित लगानीकर्ता नेपाल आएका छन् । त्यसैगरी विज्ञापनका लागि २२ र प्रविधि हस्तान्तरण सम्झौताका लागि ६ वटा गैर–पर्यटकीय भिसा प्रदान भएको विभागले जनाएको छ।

विभागका अनुसार हालसम्म ५ हजार ९७० उद्योगहरुका लागि ४ खर्ब ६४ अर्ब ६२ करोड ३१ लाख ५१ हजार रुपैयाँको लगानी प्रतिबद्धता जनाइएको छ । ती उद्योगहरुबाट ३ लाख १४ हजार ५ सय ८७ जनाले रोजगारी पाउने विभागको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।