धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा, ५ जनाको नाम ’सर्ट्लिस्टेड’

0
Shares

नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनको लागि गठित छनौट समितिले बोर्डको आकांक्षीहरुको सर्ट लिस्ट गरी अन्तर्वार्ताका लागि बोलाएको छ।

छनौट समितिले बोर्डको अध्यक्षका लागि आवेदन गरेका ८ जना मध्येबाट ५ जनालाई अन्तर्वार्ताका लागि छनौट गरेको हो। राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयाल नेतृत्वको गठित छनौट समितिले अन्तर्वार्तापछि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिश गर्नेछ ।

बोर्ड सञ्चालक समितिमा विज्ञ सदस्यका रुपमा रहेका भीष्मराज ढुंगाना, बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक डा नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका पूर्व महाप्रबन्धक सिताराम थपलिया र डा केशव श्रेष्ठ अन्तर्वाताका लागि छनौट भएका हुन् ।

अर्थ मन्त्रालयले गत कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य फुँयालको संयोजकत्वमा राजश्व सचिव शिशिरकुमार ढुंगाना र आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेको तीन सदस्सीय समिति गठन गरेको थियो।

छनौट समितिले अन्तर्वातापछि अन्तिम तीन उम्मेदवारको नाम मन्त्रिपरिषदमा पठाउने छ भने मन्त्रिपरिषदले तीन जनामध्येबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

बोर्डको रिक्त अध्यक्ष छनौट खुला प्रतिस्पर्धाबाट गर्ने गरी अर्थ मन्त्रालयले मंसिर ६ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो। यसअघिका अध्यक्ष डा रेवतबहादुर कार्की गतअसोजमा आफ्नो ४ वर्षे कार्यकाल सकेर बोर्डबाट बिदा भएका थिए। कार्कीको पदावधि असोज मसान्तमा सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ ।