नेपाल मर्चेन्ट बैंकर्स संघले हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । विभिन्न विश्वविद्यालय अन्तर्गत काठमाण्डौं उपत्यकामा स्नातक तह सञ्चालन गरिरहेका कलेजका विद्यार्थीहरुबीच पुँजी बजार सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेको छ ।
विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने सिलसिलामा मर्चेन्ट बैंकरहरुको छाता संगठन मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले असोज १८, १९ र २० गते प्रतियोगिता आयोजना हुनेछ ।
उक्त हाजिरी जवाफ प्रतियोगिताका लागि प्रतियोगी विद्यार्थी स्नातक तहमा अध्ययनरत रहेको हुनुपर्ने र कुनै पनि कलेजले प्रत्येक संकायबाट स्नातक तहमा अध्ययनरत २ जना विद्यार्थी संलग्न गरी एक–एक टोली छनोट गर्नुपर्ने र प्रत्येक टोलीको लागि प्रवेश शुल्क बापत १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतियोगितामा विजेता हुने टोलीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले जनाएको छ । प्रथम हुने टोलीको लागि १ लाख रुपैयाँ, द्वितीय हुने टोलीको लागि ५० हजार रुपैयाँ तृतिय हुने टोलीको लागि २५ हजार रुपैयाँ धनराशीको व्यवस्था गरिएको छ ।
उक्त हाजिरी जवाफ प्रतियोगितामा भाग लिनको लागि असोज १२ गतेभित्र मर्चेन्ट बैंकर्स एशोसियसन अफ नेपालको ईमेल ठेगाना [email protected] मा प्रतियोगी टोलीको नामावली पठाउन संघले स्नातक तह सञ्चालन गरिरहेको काठमाण्डौं उपत्यकास्थित सम्पूर्ण कलेजहरुलाई आह्वान समेत गरेको छ । विस्तृत जानकारीको लागि ९८६०१०३२१५ मा सम्पर्क गर्न सकिने बताइएको छ ।
धितोपत्र बजार नियमन निकायको अन्र्तराष्ट्रिय संस्था इन्टरनेशनल अर्गनाइजेसन अफ सेक्युरिटीज कमिसन अर्गनाइजेसन (आईओएससीओ) को आह्वान तथा नेपाल धितोपत्र बोर्डको समन्वयमा असोज १५ गतेदेखि असोज २१ गतेसम्म विश्व लगानीकर्ता सप्ताह–२०२३ नेपालमा पनि मनाइँदैछ । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी देशव्यापी रुपमा सचेतना तथा ज्ञान अभिवृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले लगानीकर्ता सप्ताह मनाउन लागिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया