अन्तर बैंक फुटसल टुर्नामेण्टको उपाधि एनआईसी एशिया र ग्लोबल आईएमई बैंकलाई

0
Shares

अन्तरबैंक फुटसल टुर्नामेण्ट २०८० को उपाधि एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंकले जितेका छन् ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले संविधान दिवसको अवसर पारी आयोजना गरेको अन्तरबैंक फुटसल टुर्नामेण्ट २०८०को पुरुषतर्फ उपाधि एनआईसी एसिया बैंक र महिला समूहतर्फ ग्लोबल आईएमई बैंक लिमिटेड विजेता भएका हुन् । धनयन्तरी फुटसल हव, हाडीगाँउ, काठमाण्डौमा असोज ३ देखि ६ सम्म टुर्नामेण्ट सञ्चालन भएको थियो ।

एनआईसी एसिया बैंकले फाईनल खेलमा प्राईम कमर्सीयल बैंकलाई ४–३ गोलले पराजित गर्दै टुर्नामेण्टको विजेता भएको हो । यस्तै ग्लोबल आईएमई बैंकको महिलातर्फको समूहले फाईनल खेलमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको महिला समूहलाई ट्राईवेकरमा २–१ गोलले पराजित गर्दै टुर्नामेण्टको महिला समूहतर्फको विजेता बन्न सफल भएको हो ।

टुर्नामेण्टको उत्कृष्ट खेलाडी पुरुष समूह तर्फ एनआईसी एसीया बैंकका ठाकुर श्रेष्ठ, महिला समूहतर्फ स्ट्याण्डर्ड चार्टर्ड बैंकका अनुराधा केसी, सर्वाधिक गोलकर्ता पुरुष समूहतर्फ सिद्धार्थ बैंकका शान्ती राम कार्की, महिला समूहतर्फ ग्लोबल आईएमई बैंकका चन्द्रिका भट्ट भएका थिए । त्यसैगरी खेलको उत्कृष्ट गोलरक्षक पुरुष समूह तर्फ एनआईसी एसियाका सुदीप पाण्डे र महिला समूहतर्फ ग्लोबल आईएमई बैंकका केष माया गुरुङ्ग भएकी थिइन् ।

खेलका विजेता र उपविजेता प्रत्येक टिमलाई क्रमशः १ लाख र ५० हजारका साथ मेडल र ट्रफी प्रदान गरिएको थियो । खेलका उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई मेडल, ट्रफी र नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको पुरस्कार वितरण समारोहमा कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

त्यसै गरी कार्यक्रमको समापन समारोहमा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष गिता पोखेल लम्साल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले खेलाडीहरुलाई बधाई मन्तव्य दिएका थिए । कर्मचारी संघ बालुवाटार समितिका अध्यक्ष प्रकाश पोखेलले धन्यवाद मन्तव्य दिएका थिए । कार्यक्रम संघ बालुवाटार समितिका सचिव रोलेन्द्र विक्रम जवेगुले सञ्चालन गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।