धितोपत्र बोर्डका कारण मर्चेन्ट बैंकरको साधारण शेयर निष्कासन अन्योलमा

0
Shares

नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकलाइ पनि अनिवार्य साधरण शेयर निष्कासन गर्न लगाउने भनेपनि हालसम्म निर्णय गर्न सकेको छैन । बोर्डले साधारण शेयर निष्कासन अनुमती दिने नदिने भन्ने टुङगो लगाउन नसक्दा डेढ वर्ष अघिदेखि आवेदन दिएका मर्चेन्ट बैंकर पनि अन्योलमा परेका छन ।

धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष डा. रेवत कार्कीले मर्चेन्ट बैंकरलाइ जिम्मेबार बनाउनका लागि पनि सर्वसाधारणको सहभागीता गराउनु पर्ने भन्दै साधारण शेयर निष्कासन गर्न निर्देशन दिएका थिए । कार्कीको निर्देशनपछि केही मर्चेन्ट बैंकरले साधारण सेयर निष्कासन अनुमती माग्दै बोर्डमा निवेदन पनि दिए । तर, गत असोज देखि कार्यकाल सकिएर बोर्डवाट बाहिरिएका कार्कीले आफु छदाँ पनि आवेदन आएको एक वर्ष भन्दा धेरै हुदाँ पनि अनुमती दिने निर्णय भने गर्न सकेनन ।

धितोपत्र बोर्डका तत्कालीन अध्यक्षले साधारण सेयर निष्कासन गर्न दिने भनेर केही मर्चेन्ट बैंकरले धितोपत्र बोर्डमा आवेदन पनि दिए । ती कम्पनीले आवेदन दिएको डेढ वर्ष वितीसक्दा पनि कुनै निर्णय नआएको हो ।

बोर्डले साधारण शेयर निष्कासन गर्न दिने भनेर चुक्ता पुँजीको ३० प्रतिशत सेयर निष्कासन गर्ने अनुमती माग्दै बोर्डमा निवेदन दिएको सिविआइएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नवराज गिरीले बताए । साधारण सेयर बिक्री गर्ने अनुमतीका लागि निवेदन दिएको करिब डेढ वर्ष वितीसकेको छ। गिरीले मर्चेन्ट बैंकरलाइ साधारण शेयर निष्कासन गर्न दिने नदिने भन्ने विषयमा बोर्डले निर्णय गर्न नसक्दा ढिलाइ भएको बताए । साधारण शेयर निष्कासन गर्न दिने नदिने भन्ने विषयमा बोर्डले समयमै निर्णय गरेको खण्डमा आफुहरुलाइ पनि सहज हुने उनको भनाइ छ ।

मर्चेन्ट बैंकरहरुलाइ साधारण सेयर निष्कासन गर्न दिने कि नदिने भन्ने विषयमा नै टुङगो नलागेको धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीले बताए । ‘मर्चेन्ट बैंकरको पूँजी आकार सानो भएकाले पनि पब्लिकमा जान दिने कि नदिने भन्ने कुरा बहसको विषय हो’, गिरीले भने,’अन्तराष्ट्रिय अभ्यासलाइ हेर्दा पनि मर्चेन्ट बैंकरलाइ पब्लिकमा शेयर जारी गर्न दिएको देखिदैन ।’ नेपालको सन्दर्भमा के गर्ने भन्ने छलफल कै विषयको रुपमा रहेको उनले बताए ।

मर्चेन्ट बैंकरले चाहेको खण्डमा मात्र साधारण सेयर निष्कासन हुने व्यवस्थालाई संशोधन गरी बोर्डले अनिवार्य रुपमा साधारण सेयर जारी गराउने गरी निर्देशन दिन सक्ने व्यवस्था कानुनमा रहेको छ । सोही कानुनी आधारलाइ टेकेर तत्कालीन अध्यक्षले मर्चेन्ट बैंकरलाइ अनिवार्य साधारण शेयर निष्कासन गर्न लगाउने भनेका थिए ।

सञ्चालनमा रहेको अधिकासं मर्चेन्ट बैंकर बैंक वित्तीय संस्थाका सहायक कम्पनी रहेका छन । मर्चेन्ट बैंकरका प्यारेन्ट कम्पनीहरु सबैले सर्वसाधारणमा शेयर निष्कासन गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत छन । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ अनुसार बैंक तथा वित्तीय संस्थाको सहायक कम्पनीको रुपमा रहेको मर्चेन्ट बैंकरलाइ सार्वजनिक निष्कासनका लागि अनिवार्य नहुने उल्लेख छ ।

धितोपत्र दर्ता तथा निकष्कासन नियमावली अनुसार पब्लिक कम्पनीले साधारणमा शेयर निष्कासन गर्ने भए जारी पुँजीको ३० प्रतिशत आइपीओ गर्नु पर्छ । मर्चेन्ट बैंकर नियमावली २०६४ अनुसार नियमावलीमा मर्चेन्ट बैंकिङ्ग व्यवसायको स्वच्छ संचालनका लागि बोर्डले अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरलाई आवश्यकता अनुसार धितोपत्रको सार्वजनिक निष्काशन गर्नुपर्ने प्रतिशत तथा सार्वजनिक निष्काशन गर्नुपर्ने समायावधि समेत तोकी सार्वजनिक निष्काशन गर्न निर्देशन दिन सक्ने व्यवस्था छ।

मर्चेन्ट बैंकरको काम गर्ने कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रेसन, लगानी व्यावस्थापक, धितोपत्र प्रत्याभुतीकर्ता, भेञ्चर क्यापीटल, प्राइभेट इक्यूटी तथा हेज फण्ड सञ्चालन गर्ने काम पनि गर्न सक्छन ।