सिटिजन लाइफको सेयर मूल्य पहिलाे कारोबार दिनमै नकारात्मक सर्किट लागेर घट्यो

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर मूल्य धितोपत्रको दोस्रो बजारमा कारोबार खुला भएको पहिलो दिनमै नकारात्मक सर्किट लागेर घटेको छ । सर्वसाधारणमा प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम मूल्य सहित २४४ मा सेयर बिक्री गरेको कम्पनीको सेयरमूल्य आइतबार १० प्रतिशतले घटेको हो ।
नेप्सेमा अनुसार सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार प्रतिकित्ता ५०८ रुपैयाँमा खुला भएको थियो ।

कम्पनीको धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि नेप्सेले न्यूनतम प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसा देखि अधिकतम ५१७ रुपैयाँ २९ पैसा सम्मको रेञ्ज तोकेको थियो । झण्डै अधिकतम कारोबार रेञ्जमा पहिलो कारोबार खुला भएको कम्पनीको सेयरमूल्यमा बिक्री चाप आएपछि पहिलो दिनमै प्रतिकित्ता ५० रुपैयाँ ८० पैसाले सेयर मूल्य घटेको हो ।

नेप्सेमा अनुसार कम्पनीको सेयर ओपनिङ्ग मूल्य अर्थात ५०८ मा ४०० कित्ता सेयर २ लाख ३ हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो । त्यसपछि कम्पनीके सेयर घटेर प्रतिकित्ता ५००, ४९०, ४८०, ४७० हुँदै घटेको हो । आइतबार अन्तिम पटक सिटिजन लाइफ इन्स्योरेन्सको सेयर ४५७ रुपैयाँ २० पैसामा खरिद बिक्री भएको छ ।

आइतबार दिनभरमा सिटिजन लाइफ इन्स्योरेन्सको ३ लाख १८ हजार ७२४ कित्ता सेयर १४ करोड ७३ लाख ६० हजार ७४३ रुपैयाँमा अरिद बिक्री भएको छ । आइतबार कम्पनीको सेयर औसतमा प्रतिकित्ता ४६२ रुपैयाँ ३४ पैसामा खरिद बिक्री भएको देखिन्छ । सर्वसाधारणमा प्रिमियम मूल्यमा सेयर निष्कासन गरी सेयर मूल्यमा नकारात्मक सर्किट लागेको सम्भवत सिटिजन लाइफ नै पहिलो कम्पनी हो । शिवम् सिमेन्टको सेयर पहिलो कारोबार दिनमा ९.९१ प्रतिशतले घटेको थियो । शिवम्भन्दा सिटिजन लाइफको मूल्य घटाई उच्च देखिएको छ । अधिकांश कम्पनीहरुको सेयर कारोबार नेप्सेमा पहिलो पटक खुला भएपछि केही दिन बढेर त्यसपछि मात्र घट्ने गरेको थियो ।

साता कारोबारको पहिलो दिन आइतबार सेयर बजार १.६५ प्रतिशत अर्थात ३३.२० अंकले घटेर १९७१.१० को विन्दुमा कायम भएको छ । समग्र बजार घट्ला सिटिजन लाइफको पनि सेयरमूल्य उच्च घटेको हो । घटेर कारोबार भएको सिटिजन लाइफ इन्स्योरेन्सको आइतबार सर्वाधिक कारोबार भएको हो । कम्पनी सेयर संख्या, कारोबार संख्या र कारोबार कित्ता सबैमा अग्र स्थानमा रह्यो । कम्पनीको ३ लाख १८ हजार ७२४ कित्ता सेयर आज कुल १४ करोड ७३ लाख ६० हजार ७४३ रुपैयाँमा कारोबार भएको छ । २४ हजार ५६७ वटा संख्यामा खरिद बिक्री भएको हो ।

आइतबारको घटाइपछि इन्स्योरेन्सको आईपीओमा लगानी गरेका लगानीकर्ताले लगानी मूल्यका हिसाबले आइतबारको अन्तिम मूल्यलाई आधार मान्दा ८७.३८ प्रतिशत अर्थात प्रतिकित्ता २१३ रुपैयाँ २० पैसाका दरले २ हजार १३२ रुपैयाँ नाफा आर्जन गरेका छन् । यो रकम सेयर खरिद बिक्री पश्चात आउने खुद नाफा भन्दा बाहेकेको हो । वास्तविक रुपमा भने सेयर बिक्री गर्दा खरिद मूल्यभन्दा बढीमा पुँजीगत लाभकर, ब्रोकर कसिमन, निक्षेप सदस्यता शुल्क, नेप्से र नेपाल धितापत्र बोर्ड लगायतलाई शुल्क भुक्तानी गर्दा भने १ हजार ९३१ रुपैयाँ (७९%) मात्र खुद नाफा भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।