नेप्सेमा ८ कम्पनीको एकैदिन शेयरमूल्य समायोजन, एनटिसी र सांग्रिला डेभलपमेन्ट बैंकको चाँही किन भएन ?

0
Shares

पुस १५ गते मंगलबार नेपाल स्टक एक्सचेञ्जमा ८ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । मंगलबार बुकक्लोज गरेका १० मध्ये ८ कम्पनीको शेयरमूल्य गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा समायोजन भएको हो।

१० कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ पुस १५ गते मंगलबार बुकक्लोज गरेका हुन। यससँगै नेप्सेले बोनस समायोजन गरी ८ कम्पनीको नयाँ शेयरमूल्य निर्धारण गरेको हो। नेपाल दूरसञ्चार कम्पनी (एनटिसी) र सांग्रिला डेभलपमेन्ट बैंकको भने शेयरमूल्य समायोजन गरिएको छैन।

बोनस समायोजन गरेर नेप्सेले निर्धारण गरेको नयाँ मूल्य अनुसार उन्नति माइक्रोफाइनान्स वित्तय संस्थाको ३८.६० प्रतिशत बोनस शेयर पश्चात ६३३.४८ रुपैयाँ, फरवार्ड कम्यूनिटी लघुवित्तको ३२.५० प्रतिशत बोनस शेयर पश्चात १०५२.०८ रुपैयाँ, किसान माइक्रोफाइनान्सका २३.९५ प्रतिशत बोनस पश्चात ६६९.६२ रुपैयाँ, मिथिला लघुवित्तको १५ प्रतिशत बोनस पश्चात ४६६.०९ रुपैयाँ, कञ्चन डेभलपमेन्ट बैंकको १० प्रतिशत बोनस पश्चात २१६.३६ रुपैयाँ, आईसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस पश्चात १५२.३८ रुपैयाँ, छ्याङ्दी हाइड्रोपावरको ५ प्रतिशत बोनस पश्चात ८९.५२ रुपैयाँ, र मञ्जुश्री फाइनान्सको १.७५ प्रतिशत बोनस पश्चात १३९.५६ रुपैयाँ कायम गरिएको छ।

शेयरमूल्य समायोजन भएका सबै ८ वटै कम्पनीको शेयर मंगलबार समायोजित मूल्यलाई आधार मानेर शेयर कारोबार खुल्नेछ ।

किन भएन एनटिसी र सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन ?

कुनैपनि कम्पनीले बजारमूल्यको दश प्रतिशतभन्दा धेरै नगद लाभांश वितरण गरेमा मात्र नेप्सेमा नगद लाभांशमा शेयरमूल्य समायोजन हुने नियम रहेको छ। यसअनुसार नेपाल दूरसञ्चार कम्पनी (एनटिसी) र सांग्रिला डेभलपमेन्ट बैंकले वितरण गरेको नगद लाभांश बजारमूल्यको दश प्रतिशतभन्दा थारै रहेकोले नेप्सेमा शेयरमूल्य समायोजन नभएको हो। बोनस शेयरको हकमा भने जतिसुकै लाभांशमा पनि शेयरमूल्य समायोजन हुने गरेको छ।

यसअनुसार नेपाल दूरसञ्चार कम्पनीले प्रतिशेयर ४५ रुपैयाँ नगद लाभांश लाभांश प्रस्ताव गरेको छ। सो नगद लाभांश कम्पनीको धितोपत्रको दोसो बजारमा कारोबार भएको शेयरमूल्यको १० प्रतिशतभन्दा कम भएकाले समायोजन नभएको हो। पुस १५ गते कम्पनीको बजारमूल्य प्रतिकित्ता ६६२ रहेको छ। यसअनुसार शेयरमूल्य समायोजन हुन कम्तिमा ६६ रुपैयाँ २० पैसा वा सो भन्दा धेरै लाभांश वितरण गर्दा मात्र शेयरमूल्य समायोजन हुने गर्दछ।

यसैगरि सांग्रिला डेभलपमेन्ट बैंकको पनि दोसो बजारमा प्रतिकित्ता शेयरमूल्य १४३ रुपैयाँ छ तर बैंकले कर सहित ८.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोले शेयरमूल्य समायोजन भएको छैन। शेयरमूल्य समायोजन हुन बैंकको बजारमूल्यको दश प्रतिशत अर्थात १४ रुपैयाँ ३० पैसा वा सो भन्दा धेरै नगद लाभांश वितरण गरेको हुनुपर्छ। 

नेप्सेमा शेयरमूल्य समायोजन नगरेपनि बजारमा बुकक्लोज पश्चात शेयर खरीद गर्ने लगानीकर्ताले लाभांश नपाउँने हुँदा बजार आफैँले शेयरमूल्य समायोजन गर्ने गरेको छ। न्गद लभांशमा शेयरमूल्य समायोजन नभएपनि बजारमा नगद लाभांश वितरण गरेका कम्पनीको शेयरमूल्यमा गिरावट आएर समायोजन हुने गरेको विगतमा पनि देखिएका छन्।