नेपाल लाइफको उच्च कारोबार, विशाल बजारको भाउ बढ्दा एनटिसिको घट्यो

0
Shares

शेयर बजार करिब दुई अंक तल झरेर बन्द भएको छ । अघिल्लो दिनको भन्दा १८ करोड कम कारोबार भएको बजारमा समूहगत सूचकहरु मिश्रित देखिएका छन् ।

नेप्से सूचक १.९२ अंकले घटेर ११६६.०३ विन्दुमा झरेको छ । १७७ कम्पनीको कारोबार भएको बजारमा ४४ करोड २२ लाख बराबरको शेयर किनबेच भयो । जुन अघिल्लो दिनको तुलनामा १८ करोड कम हो ।

यसदिन पनि नेपाल लाइफको उच्च कारोबार भयो । नेपाल लाइफको ६ करोड १७ लाख बराबरको शेयर किनबेच भएको छ । तर बुधबार भने कम्पनीको मूल्य घटेको छ । शिवम सिमेन्ट र हिमालयन डिष्टलरीको पनि साढे २ करोड बढीको कारोबार भयो ।

यसदिन सबैभन्दा धेरै विशाल बजार कम्पनीको शेयर मूल्य ७.८० प्रतिशतले उकालो लागेको छ । यसपछि उच्च मूल्य बढ्नेमा सिभिल लघुवित्त रहेको छ । जसको शेयर मूल्य ७.७६ प्रतिशतले बढ्यो । कर्पोरेट डेभलपमेन्ट, मिथिला लघुवित्त लगायतका कम्पनीको शेयर मूल्य बढेको छ ।

आजको बजारमा सबैभन्दा धेरै नेपाल टेलिकमको भाउ घटेको छ । टेलिकमको शेयर मूल्य ५ प्रतिशत बढीले झरेको छ । जसको शेयरमूल्य प्रतिकित्ता ३९ रुपैयाँले घटेको छ । कम्पनीले बजारमूल्यको दश प्रतिशतभन्दा धेरै नगद लाभांश वितरण नगर्दा मूल्य समायोजन नगरेपनि बजारले भने मूल्य समायोजन गरेको छ । कम्पनीले प्रतिशेयर ४५ रुपैयाँ नगद लाभांश लाभांश प्रस्ताव गरेको छ। जसको लागि आजै बुक क्लोज भएको छ ।