मन्दीले जीवन बीमाको बीमा शुल्क संकलन प्रभावित, प्रथम बीमाशुल्क १०% घट्यो

0
Shares

देशमा आर्थिक क्रियाकलाप र उपभोगमा आएको कमीका कारण छाएको मन्दीको प्रभाव जीवन बीमा कम्पनीहरुले संकलन गर्ने प्रथम बीमाशुल्कमा देखिएको छ । अघिल्लो भदौको तुलनामा नवीकरण बीमाशुल्क १६.८० प्रतिशतले बढेको भएपनि प्रथम बीमाशुलक भने ९.९८ प्रतिशतले घटेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्ममा २९ अर्ब १२ करोड ९८ लाख ३८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये प्रथम बीमाशुल्क वापत ४ अर्ब ३३ करोड ५३ लाख ७५ हजार रुपैयाँ र नवीकरण बीमाशुलक वापत २४ अर्ब ७९ करोड ४४ लाख ६४ हजार रुपैयाँ संकलन गरेका हुन् ।

अघिल्लो आवको दुई महीनाको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क ४८ करोड ४ लाख ७० हजार रुपैयाँले घटेको हो भने नवीकरण बीमाशुल्क ३ अर्ब ५६ करोड ६९ लाख ४३ हजार रुपैयाँले बढेको हो । नयाँ व्यवसाय घटेपनि पुरानो बिक्री भएको बीमालेख नवीकरणबाट प्राप्त हुने प्रिमियम बढ्दा बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कमा भने ११.८५ प्रतिशत अर्थात ३ अर्ब ८ करोड ६४ लाख ७३ हजार रुपैयाँले बढेको छ ।

अघिल्लो आवको भदौसम्म सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ४ अर्ब ८१ करोड ५८ लाख ४४ हजार रुपैयाँ प्रथम बीमाशुल्क र २१ अर्ब २२ करोड ७५ लाख २१ हजार रुपैयाँ नवीकरण बीमाशुलक गरी कुल २६ अर्ब ४ करोड ३३ लाख ६५ हजार रुपैयाँ संकलन गरेका थिए ।

नेपाल लाइफ शीर्ष स्थानमा, कुल इन्डष्ट्रिजको साढे २७% हिस्सा

सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफले सबैभन्दा धेरै ८ अर्ब १ करोड १८ लाख ५२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो जीवन बीमा इन्डष्ट्रिजले दुई महीनामा संकलन गरेको कुल बीमाशुल्कको २७.५० प्रतिशत हो । भदौसम्म कम्पनीले १ अर्ब ८ करोड ४९ लाख ७८ हजार रुपैयाँ बरारबरको नयाँ व्यवसाय विस्तार गरेको छ । कम्पनीके नवीकरण बीमाशुल्क ६ अर्ब ९२ करोड ६८ लाख ७४ हजार रुपैयाँ छ ।

दोस्रो ठूलो बीमाशुल्क सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले संकलन गरेको छ । संस्थानले भदौसम्म कुल ३ अर्ब ५६ करोड ८५ लाख ५९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । दुई महीनामा कम्पनीले ७ करोड ६८ लाख ६२ हजार रुपैयाँ नयाँ व्यवसाय विस्तार गरेको छ भने नवीकरण बीमाशुल्क वापत ३ अर्ब ४९ करोड १६ लाख ९६ हजार रुपैयाँ संकलन गरेको छ ।

यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) ले चालु आवको दुई महीनामा ३ अर्ब ६ करोड ३४ लाख ७० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रथम बीमाशुल्क वापत ३१ करोड ८१ लाख ४६ हजार रुपैयाँ र नवीकरण बीमाशुल्क वापत २ अर्ब ७४करोड ५३ लाख २४ हजार रुपैयाँ संकलन गरेको छ ।

भदौसम्म हिमालयन लाइफ इन्स्योरेन्सले चौथो ठूलो बीमाशुल्क संकलन गरेको छ । कम्पनीले प्रथम बीमाशुल्क वापत ३३ करोड ५५ लाख ८२ हजार रुपैयाँ र नवीकरण बीमाशुल्क वापत २ अर्ब ६२ करोड २३ लाख ९१ हजार रुपैयाँ गरी कुल २ अर्ब ९५ करोड ७९ लाख ७३ हजार रुपैयाँ संकलन गरेको हो ।

यसैगरी पाँचौं ठूलो बीमाशुल्क उठाएको नेशनल लाइफले भदौ महिनासम्ममा २ अर्ब ९० करोड ७७ लाख २८ हजार रुपैयाँ संकलन गरेको छ । जसमा ५५ करोड ६३ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय वापत संकलन गरेको हो भने नवीकरण बीमाशुल्कबाट २ अर्ब ५३ करोड १४ लाख ९ हजार रुपैयाँ रहेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले भदौ महिनासम्ममा प्रथम बीमाशुल्क वापत ३३ करोड ८५ लाख ७३ हजार रुपैयाँ र नवीकरण बीमाशुल्कबाट १ अर्ब २१ करोड १४ लाख ५७ हजार रुपैयाँ गरी कुल १ अर्ब ५५ करोड ३० हजार रुपैयाँ संकलन गरेको छ । चालु आवको दुई महीना अवधिमा एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब २२ करोड ८ लाख ८४ हजार रुपैयाँ बीमाशुलक संकलन गरेको छ । जसमा प्रथम बीमाशुल्क वापत १९ करोड ८७ लाख ८५ हजार रुपैयाँ र नवीकरण बीमाशुल्कबाट १ अर्ब २ करोड २० लाख ९० हजार रुपैयाँ रहेको छ ।

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले प्रथम बीमाशुल्क वापत १९ करोड ५४ लाख ६ हजार रुपैयाँ र नवीकरण बीमाशुल्कबाट ८२ करोड ५ लाख ६७ हजार रुपैयाँ संकलन गरेको छ । भदौसम्म कम्पनीले कुल १ अर्ब १ करोड ५९ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क उठाएको हो । साथै सिटिजन लाइफ इन्स्योरेन्सले भदौसम्म १ अर्ब १ करोड १० लाख ८२ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ । सिटिजनले २७ करोड ३३ लाख ५९ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय वापत संकलन गरेको हो भने नवीकरण बीमाशुल्कबाट ७३ करोड ७७ लाख २४ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा मेट लाइफ इन्स्योरेन्सले ९२ करोड १२ लाख ४९ हजार रुपैयाँ बीमशुल्क उठाएको छ । प्राधिकरणले दिएको तथ्याङ्क अनुसार मेट लाइफले प्रथम बीमाशुल्क वापत २० करोड २३ लाख ९८ हजार रुपैयाँ र नवीकरण बीमाशुल्कबाट ७१ करोड ८८ लाख ५१ हजार रुपैयाँ संकलन गरेको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स भदौसम्म प्रथम बीमाशुल्क वापत १२ करोड ५० लाख ६० हजार रुपैयाँ र नवीकरण बीमाशुल्कबाट ६९ करोड ९९ लाख १ हजार रुपैयाँ संकलन गरेको छ । भदौसम्म कम्पनीले कुल ८२ करोड ४९ लाख ६१ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ ।

आइएमई लाइफ इन्स्योरेन्सको भदौसम्म संकलित कुल बीमाशुल्क ७६ करोड ३१ लाख ३४ हजार रुपैयाँ रहेको छ । जसमा प्रथम बीमाशुल्क वापत २१ करोड ४६ लाख ५० हजार रुपैयाँ र नवीकरण बीमाशुल्कबाट ५४ करोड ८४ लाख ८५ हजार रुपैयाँ छ । यस अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रथम बीमाशुल्क वापत २१ करोड ४६ लाख ७५ हजार रुपैयाँ र नवीकरण बीमाशुल्कबाट ४६ करोड ८ लाख ५८ हजार रुपैयाँ गरी कुल ६७ करोड ५५ लाख ३३ हजार रुपैयाँ प्रिमियम संकलन गरेको हो ।

जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा कम बीमाशुल्क सन नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । कम्पनीले भदौसम्म ६३ करोड ७४ लाख १० हजार रुपैयाँ प्रिमियम संकलन गरेको हो । जसमा २० करोड ५ लाख ८२ रुपैयाँ बराबरको नयाँ व्यवसाय वापत संकलन गरेको हो भने नवीकरण बीमाशुल्कबाट ४३ करोड ६८ लाख २८ हजार रुपैयाँ रहेको छ ।

भदौसम्म कुन कम्पनीले कति बीमाशुल्क संकलन गरे हेरौंः–

१. नेपाल लाइफ इन्स्योरेन्सः ८ अर्ब १ करोड १८ लाख ५२ हजार रुपैयाँ
२. राष्ट्रिय बीमा संस्थानः ३ अर्ब ५६ करोड ८५ लाख ५९ हजार रुपैयाँ
३. लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी)ः ३ अर्ब ६ करोड ३४ लाख ७० हजार रुपैयाँ
४. हिमालयन लाइफ इन्स्योरेन्सः २ अर्ब ९५ करोड ७९ लाख ७३ हजार रुपैयाँ
५. नेशनल लाइफ इन्स्योरेन्सः २ अर्ब ९० करोड ७७ लाख २८ हजार रुपैयाँ
६. सूर्यज्योति लाइफ इन्स्योरेन्सः १ अर्ब ५५ करोड ३० हजार रुपैयाँ
७. एशियन लाइफ इन्स्योरेन्सः १ अर्ब २२ करोड ८ लाख ८४ हजार रुपैयाँ
८. सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सः १ अर्ब १ करोड ५९ लाख ७३ हजार रुपैयाँ
९. सिटिजन लाइफ इन्स्योरेन्सः १ अर्ब १ करोड १० लाख ८२ हजार रुपैयाँ
१०. मेट लाइफ इन्स्योरेन्सः ९२ करोड १२ लाख ४९ हजार रुपैयाँ
११. प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सः ८२ करोड ४९ लाख ६१ हजार रुपैयाँ
१२. आइएमई लाइफ इन्स्योरेन्सः ७६ करोड ३१ लाख ३४ हजार रुपैयाँ
१३. रिलायबल नेपाल लाइफ इन्स्योरेन्सः ६७ करोड ५५ लाख ३३ हजार रुपैयाँ
१४. सन नेपाल लाइफ इन्स्योरेन्सः ६३ करोड ७४ लाख १० हजार रुपैयाँ

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।