भदौमा ९ हजार ३ सय बढी जीवन बीमालेख सरेण्डर, ठूला कम्पनीमा धेरै

0
Shares

चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात भदौमा १ अर्ब १८ करोड २० लाख ७ हजार रुपैयाँ बराबरका बीमालेख सर्मपण भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौमा मात्रै १४ जीवन बीमा कम्पनीहरुमा कुल ९ हजार ३८६ वटा बीमा पोलिसी सरेन्डर भएका हुन् ।

भदौमा साउनको तुलनामा ४१२ वटा कम बीमालेख सरेण्डर हुँदा मूल्यमा समेत १० करोड १३ लाख ३२ हजार रुपैयाँ कमका बीमालेख त्याग भएका छन् । साउनमा १ अर्ब २८ करोड ३३ लाख बराबरका ९ हजार ७९८ वटा बीमालेख त्याग भएको थियो । 

बीमालेख सरेण्डर हुने कम्पनीको सूचीहरुमा ठूला तथा शीर्ष कम्पनीहरुमा नै धेरै रहेका छन् । ठूला तीन कम्पनीहरुमा मात्रै कुल सरेन्डर संख्याको ५३.९५ प्रतिशत तथा कुल मूल्यको ६६.३९ प्रतिशत बराबरको बीमालेख समर्पण भएका हुन् । ठूला तीन कम्पनीमा ७८ करोड ४७ लाख ६१ हजार मूल्यका ५ हजार ६४ वटा बीमालेख त्याग भएका हुन् ।

प्रिमियम संकलनमा जीवन बीमा क्षेत्रमा कुल साढे २७ प्रतिशत हिस्सा ओगटेको नेपाल लाइफ इन्स्योरेन्समा बीमा सरेण्डर गर्ने बीमितहरुको सङ्ख्या उत्तिकै धेरै देखिएको छ । भदौमा नेपाल लाइफका २ हजार ५४२ बीमितहरुले कुल ४० करोड २९ लाख ३७ हजार रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका छन् ।

यस्तै भदौमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका १ हजार ८२३ बीमितले २७ करोड ५८ लाख ५१ हजार बराबरको पालिसी सरेन्डर गरेका छन्् । बीमा सरेन्डर हुने शीर्ष कम्पनीहरुको तेस्रो सूचीमा राष्ट्रिय बीमा संस्थान रहेको छ । भदौमा संस्थानको ९ करोड ८१ लाख २ हजार रुपैयाँ बराबरको १ हजार १३४ वटा बीमालेख सरेण्डर भएका हुन् । यस्तै हिमालयन लाइफ इन्स्योरेन्समा ८ करोड ४३ लाख ६६ हजार रुपैयाँ बराबरको ९५९ वटा तथा सूर्यज्योति लाइफमा ७ करोड ३१ लाख ५२ हजार रुपैयाँ बराबरका ४११ वटा पोलिसी सरेन्डर भएका छन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार बाँकी पाँच जीवन बीमा कम्पनीहरुमा एक करोडदेखि पाँच करोड रुपैयाँसम्मका बीमालेख समर्पण भएका छन् । भदौमा एशियन लाइफ इन्स्योरेन्सका ४ करोड ८१ लाख ४ हजार मूल्यका ७५८ वटा, मेट लाइफका ३ करोड ६९ लाख २६ हजार मूल्यका ३९१ वटा, सिटिजन लाइफका १ करोड ६३ लाख १२ हजार मूल्यका २०३ वटा, रिलायन्स लाइफका १ करोड २३ लाख ७६ हजार मूल्यका १५९ वटा र प्रभु महालक्ष्मी लाइफका १ करोड १४ लाख ९७ हजार मूल्यका ८४ वटा बीमालेख त्याग भएका छन् ।

जीवन बीमा क्षेत्रमा पाँच वर्षअघि नयाँ कम्पनीको रुपमा उदाएका नवप्रवेशी कम्पनीहरु सन नेपाल लाइफ, आइएमई लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा बीमा समर्पण गर्ने बीमितहरुको सङ्ख्या पनि थोरै रहेको छ । सन नेपाल लाइफमा ४० लाख ४७ हजारका ४० वटा, आइएमई लाइफमा ४७ लाख ८७ हजार रुपैयाँका ४१ वटा, र रिलायबल नेपाल लाइफमा ७२ लाख ७१ हजारका १४२ वटा बीमालेख समर्षण भएका छन् । नयाँ कम्पनीमा बीमा गर्ने बीमितिहरु नै थोरै हुने हुँदा पुरानाको तुलनामा बिजनेश र सरेण्डरको हिस्सा पनि थोरै हुने गरेको हो ।

बीमा प्राधिकरणको कमजोर कार्यसम्पादन, बीमा नीति, आर्थिक संकट र बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पोलिसी सरेण्डरको मात्रा बढेको हो । बीमा नवीकरणमा अभिकर्ताले प्राथमिकता नदेखाउँदा तत्कालको लागि कुनै समस्या नदेखिए पनि दीर्घकालीन रुपमा यसको असर जटिल देखिने जानकारहरुको भनाई छ ।

नेपाल बीमा प्राधिकरणले जति नै कडाइ गरेपनि बीमा पोलिसी सरेन्डर दर भने घट्न सकेको छैन । प्राधिकरणको नयाँ व्यवस्था अनुसार बीमितले बीमालेख खरिद गरेको मितिले कम्तीमा तीन वर्षसम्म सरेन्डर गर्न पाउँदैनन् । यसअघि बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।