आरएसडिसी लघुवित्तको लाभांश घोषणा, अघिल्लो आवको तुलनामा घट्यो

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९-८० बाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश वितरणको प्रस्ताव गरेको छ ।

असोज १९ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ८.६० प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि ०.४५२६ प्रतिशत नगद गरी कुल ९.०५२६ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलले जानकारी दिए ।

सञ्चालक समितिको १४८ औं बैठकबाट प्रस्तावित लाभांश अनुसार कम्पनीले चुक्ता पुँजीको ९.०५२६५ ले हुन आउने कुल ७ करोड ८७ लाख १८ हजार ८०५ रुपैयाँ ४९ पैसा लाभांश वितरण गर्नेछ । जसमध्ये चुक्ता पुँजीको ८.६० प्रतिशतका दरले हुन आउने ७ करोड ४७ लाख ८२ हजार ८६५ रुपैयाँ २२ पैसा बोनस सेयर र ०.४५२६५ दरले हुन आउने ३९ लाख ३५ हजार ९४० रुपैयाँ २७ पैसा नगद लाभांश रहेको छ ।

गत आवबाट प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा १.९४७४ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष २०७८–७९ बाट लघुवित्तले सेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र बोनसको कर प्रयोजन सहित ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल लघुवित्त कम्पनीको चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार ६५ रुपैयाँ २० पैसा पुग्नेछ ।

सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृती तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीमा लाभांश हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।