नेप्सेमा गिरावट जारी, सोमबार पनि दोहोरो अंकले घट्यो

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्सेको गिरावटले निरन्तरता पाएको छ । नेप्सेका अनुसार आज बजार सूचक १२.५८ अंकले घटेर १९०८.६६ बिन्दुमा झरेको हो ।

राष्ट्र बैंकको एकीकृत निर्देशन मार्फत सेयर कर्जाको सीमा वृद्धि भएपनि सो व्यवस्थाप्रति लगानीकर्ता सन्तुष्ट बन्न नसक्दा आइतबारको पनि सेयर बजारमा ३५.६७ अंकको उच्च गिरावट आएको थियो ।

राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशनलाई संसोधन गर्दै सेयर बजारसँग सम्बन्धित सेयर धितो कर्जामा लागू क्यापलाई व्यक्तिगततर्फ ३ करोड वृद्धि गरेर १५ करोड र संस्थागततर्फ ८ करोड वृद्धि गरी २० करोड कर्जा सीमा पुर्याएको थियो । पुँजी बजारका लगानीकर्ताको मनोबल बढाउन भन्दै सेयर धितो कर्जासम्बन्धी व्यवस्था केही खुकुलो बनाइए पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा देखिएन् । सेयर धितो कर्जाको सीमा बढ्दा त्यसको सकारात्मक प्रभाव बजारमा देखिने अनुमान गरिएको थियो । तर त्यस विपरित निरन्तर दुई दिनमा बजार ४८.२५ अंकले घटेको हो ।

सोमबार खुलेदेखि नै घटेको बजार साढे १२ बजेपछि बढेको थियो । पौने २ बजे ५ अंकले बढेर १९२६.७२ अंकसम्म पुगेको भएपनि बन्द हुँदा १२.५८ अंकले घटेर बन्द भएको हो । आज कारोबार रकम १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँ पुगेको छ । सोमबार २८७ कम्पनीका ४३ लाख २७ हजार १७९ कित्ता सेयर ४८ हजार ४४४ वटा संख्यामा खरिद बिक्री भएको छ । आइतबार २८९ कम्पनीका ५८ लाख १५ हजार १८९ कित्ता सेयर १ अर्ब ८० करोड १७ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६३ करोड १६ लाखले घटेको हो ।

सोमबार कारोबारमा आएकामध्ये उत्पादन तथा प्रशोधन र ब्यापार बाहेक ११ वटै उपसमुहगत सूचक ऋणात्मक बनेका छन् । जलविद्युत सर्वाधिक १ प्रतिशतले घटेको छ ।

सयपत्री हाइड्रोपावरको सेयर मूल्य सोमबार सर्वाधिक बढेको छ । उक्त कम्पनीहरुको सेयर मूल्य ६.८८ प्रतिशत अर्थात ३३ रुपैयाँले बढेर ५१३ रुपैयाँ पुगेको छ । यस्तै थ्रीस्टार हाइड्रोपावरको ४.४६ प्रतिशत, हिमालयन पावर पार्टनर ४.३८ प्रतिशत, इमर्जिङ्ग नेपाल ४.३६ प्रतिशत, सिटिजन म्युचुअल फन्ड–२ को इकाईमूल्य ३.९१ प्रतिशतले बढेको छ ।

उता आजको बजारबाट बाराही हाइड्रोपावरको सेयरमूल्यमा नरकारात्मक सर्किट लागेको छ । कम्पनीको मूल्य १० प्रतिशतले घटेर ४९५ रुपैयाँ ९० पैसामा झरेको छ । आइतबार सर्किट मूल्यमा बढेको यस कम्पनीको भोलिपल्टै नकारात्मक सर्किट लागेर घटेको हो । यसैगरी हिमालयन लघुवित्तको ९.९९ प्रतिशत, प्रोगेशिभ फाइनान्स ५.२० प्रतिशत, सानिमा जिआईसी इन्स्योरेन्सको ४.८९ प्रतिशत, पिपुल्स पावरको ४.१३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । यस दिन नबिलको ३ करोड ५१ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३६ लाख, हिमालयन लघुवित्त ३ करोड११ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको २ करोड ९४ लाख र शिवम् सिमेन्ट्सको २ करोड ८१ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

सोमबारको गिरावटपछि समग्र बजार पुँजीकरण २९ खर्ब ११ अर्ब २५ करोड १५ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो कारोबार दिन आइतबार बजार पुँजीकरण २९ खर्ब ३० अर्ब ४४ करोड ९१ लाख रुपैयाँ थियो । आज मात्रै १९ अर्ब १९ करोड रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहु

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।