पछिल्लो चार दिनमा ७८ अंकले घट्यो नेप्से , बिहीबार पनि १९ अंकले ओरालो

0
Shares

सेयर बजारमा मंगलबार १९.०६ अंक सहित पछिल्लो चार दिनमा ७८.३५ अंकले घटेको छ । गत बिहीबारदेखि घट्न थालेको बजार सूचक मंगलबारसम्म आइपुग्दा निरन्तर चार कारोबार दिन घटेको हो ।

गत बुधबार ९.२४ अंकले बढेको बजार सूचक त्यसपछि बिहीबार ११.०४ अंकले घटेको थियो । सेयर बजारमा लागू एकल ग्राहक कर्जा सीमामा भएको झिनो बढोत्तरीमा लगानीकर्ता असन्तुष्ट बनेपछि आइतबार बजार सूचक ३५.६७, सोमबार १२.५८ र मंगलबार १९.०६ अंकले घटेको हो ।

राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशनलाई संसोधन गर्दै सेयर बजारसँग सम्बन्धित सेयर धितो कर्जामा लागू क्यापलाई व्यक्तिगततर्फ ३ करोड वृद्धि गरेर १५ करोड र संस्थागततर्फ ८ करोड वृद्धि गरी २० करोड कर्जा सीमा पुर्याएको थियो । तर एकीकृत निर्देशन मार्फत सेयर कर्जाको सीमा वृद्धि भएपनि उच्च अंकको गिरावट आउनुले लगानीकर्तामा भने सो व्यवस्थाप्रति चरम असन्तुष्ट रहेको बजार घटाइबाट नै प्रस्ट हुन्छ । सेयर धितो कर्जाको सीमा बढ्दा त्यसको सकारात्मक प्रभाव बजारमा देखिने अनुमान गरिएको थियो । तर त्यसको विपरित बजार सूचक निरन्तर घट्दो क्रममा देखिएको छ ।

मंगलबार नेप्से १९.०६ अंकले घटेर १८८९.५९ बिन्दुमा झरेको छ । कारोबार रकम १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँ पुगेको छ । मंगलबार २८२ कम्पनीका ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर ४४ हजार ६९ वटा संख्यामा खरिद बिक्री भएको छ । यसदिन कारोबारमा आएको सबै उपसमुहगत सूचक ऋणात्मक बने । जलविद्युत सर्वाधिक १.७९ प्रतिशतले घट्दा होटल तथा पर्यटनमुलक, विकास बैंक, फाइनान्स, जीवन बीमा र निर्जीवन बीमाको इन्डेक्स १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य आज सर्वाधिक बढेको छ । उक्त कम्पनीहरुको सेयर मूल्य ५.८६ प्रतिशत अर्थात १६ रुपैयाँले बढेर २८९ रुपैयाँ पुगेको छ । यस्तै इन्फिनिटी लघुवित्तको ४.१९ प्रतिशत, गुराँस लघुवित्त ४.०३ प्रतिशत, ८.५% प्रभु डिबेञ्चर २०८७ को मूल्य ३.८९ प्रतिशत र इङ्वा हाइड्रोपावरको ३.६३ प्रतिशतले बढेको छ ।

आजको बजारबाट सर्वाधिक गुमाउनेमा बाराही हाइड्रोपावरको ७.६४ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य ७.६४ प्रतिशत अर्थात ३७ रुपैयाँ ९० पैसाले घटेर ४५८ रुपैयाँमा झरेको छ । यस्तै गरिमा डिबेञ्चरको २०८५ को ५.८३ प्रतिशत, रावा इनर्जी डेभलपमेन्टको ५.४८ प्रतिशत, श्री इन्भेष्ट एण्ड फाइनान्सको ५.४७ प्रतिशत र श्वेतगंगा हाइड्रोपावरको ५.३७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन सानिमा जीआईसी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । इन्स्योरेन्सको २० करोड ३७ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै नबिल बैंकको ३ करोड ४४ लाख, एनआईसी एशिया बैंकको ३ करोड ३ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको २ करोड ६४ लाख र सिटिजन लाइफ इन्स्योरेन्सको २ करोड ६० लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

मंगलबारको गिरावटपछि समग्र बजार पुँजीकरण २८ खर्ब ८२ अर्ब १७ करोड २९ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो कारोबार दिन सोमबारको बजार पुँजीकरण २९ खर्ब ११ अर्ब २५ करोड १५ लाख रुपैयाँ थियो । आज मात्रै २९ अर्ब ८ करोड रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार  १५ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।